विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख बढी

| 2020 Aug 22 | 03:13 pm 1752

काठमाडौं, भदौ ६ः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस सुरू भएको ८ महिना भइसक्दा यसबाट विश्वभर ८ लाख मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभर ८ लाख २ हजार ३ सय ७२ जनाको भाइरस संक्रमणकै कारण मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

बिहीबार मात्र विश्वरभर कोरोना संक्रमणका कारण ५ हजार ८ सय ३४ मानिसको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिका र ब्राजिलमा तथा त्यसपछि भारत र मेक्सिकोमा कोरोनाका कारण मानिसहरू मरेका छन् ।

बिहीबार संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट १ हजार १ सय ७० जनाको ज्यान गएको छ । यससँगै त्यहाँ अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७९ हजार २ सय पुगेको छ । अमेरिकामा बिहीबार ५० हजार ४ सय ५५ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ५७ लाख ९६ हजार ७ सय २७ पुगेको छ । त्यहाँ हालसम्म ३१ लाख २७ हजारभन्दा बढी मानिसचाहिँ संक्रमणमुक्त भइसकेका छन् ।

यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ३१ जनाको ज्यान गएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या १ लाख १३ हजार ४ सय ५४ पुगेको छ । बिहीबार त्यहाँ ३१ हजार ३ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा अहिलेसम्म ३५ लाख ३६ हजार मानिस संक्रमित भएकोमा २६ लाख ७० हजारभन्दा निको भइसकेका छन् भने बाँकी ७ लाख ५२ हजारबढी सक्रिय संक्रमित रहेका छन् ।

भारतमा पनि बिहीबार कोरोनाबाट ९ सय ५३ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतकको संख्या ५५ हजार ९ सय २८ रहेको छ भने कुल संक्रमित संख्या २९ लाख ७३ हजार ३ सय ६८ पुगेको छ । त्यहाँ बिहीबार मात्र ६९ हजार ३९ नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी मेक्सिकोमा बिहीबार कोरोनाबाट ६ सय २५ जनाको ज्यान गएको छ । त्यहाँ हालसम्म कुल मृतक संख्या ५९ हजार १ सय ६ पुगेको छ । बिहीबार त्यहाँ ६ हजार ७ सय ७५ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ५ लाख ४३ हजार ८ सय ६ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.