विमानस्थलको पिच शुरु गर्न गरियो पूजा

रिपोर्ट नेपाल | 2019 Apr 03 | 01:29 pm 1725

काठमाडौं, चैत्र २० : देशको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारका लागि धावन स्थलको कालोपत्रे उप्काएर पुनः कालोपत्र गर्ने काम तीब्र गतिले भइरहेको छ । बुधबार एक कार्यक्रमबीच पर्यटन राज्यमन्त्री धनबहादुर बूढाले पुजा गरेर सुरुआत गरेका हुन् ।  सन् १९७५ मा निर्माण गरिएको यो विमानस्थल पटक पटक कालोपत्रे उप्किएर बाधा पुर्याउँदै आएको थियो । धावनमार्ग यो भन्दा पहिला पनि मर्मत गरेर सञ्चालन गरिँदै आएको थियो । तर, अहिले भने इतिहासमै पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न थालिएको छ ।

विमानस्थलका एक अधिकारीका अनुसार धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गरिने भएको छ । स्तरोन्नतिको सिलसिलमा यस अघि दैनिक २२ घण्टा उडान हुँदै आएको विमानस्थल हाल निर्माण शुरु हुने भएपछि दैनिक १० घण्टा उडान बन्द हुने भएको छ ।

धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वे को स्तरोन्नति गर्ने छ ।

नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सम्पन्न गरिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.