विभिन्न स्थानबाट अवैध लागूऔषध कारोबारी पक्राउ

| 2019 May 04 | 08:16 pm 1828

काठमाडौं, वैशाख २१ : देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका १ स्थित ट्राफिक चोकबाट २२ वर्षीय बसन्त राईलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ५ सय ९० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राईले हाफ्पेन्टको गोजीमा लुकाई प्लाष्टिकले स–सानो ७ वटा पोको पारी लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै बर्दिया मधुवन नगरपालिका ५ बाट १४ पुरियामा रहेको करिब १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा १८ वर्षीय शुसिल भारती, १८ वर्षीय पुष्कर शाही र ३३ वर्षीय दिनेश कुमार बोहरा रहेका छन् । उनीहरूले ब्राउनसुगर बिक्री वितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर, मोबाइल र ना ५९ प ८०७ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसैगरी धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ का २६ वर्षीय रोहित थापासमेत २ जनालाई लागूऔषध नाइट्रोभेट ३४ ट्याब्लेट, नगद २८ हजार ४ सय ३४ रुपैयाँ, सुनको रिङ २ थान, टप २ थान र मंगलसुत्र १ थान तथा मोबाइल २ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध र सामानसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ लच्काबाट करिब ७५ किलो अवैध लागूऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको छ । हेटौंडाबाट बीरगंजतर्फ जाँदै गरेको बिआर ०५ पि ५६०५ भारतीय नम्बरप्लेटको एम्बुलेन्स ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले रोक्न खोज्दा नरोकी भागेपछि पिछा गर्दै जाँदा केही अगाडि सडकमा रोकी चालक जंगलतर्फ भागेकोले एम्बुलेन्स जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

फरार एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.