कास्की, पुस २४ः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-३ नदिपुर घर भई चितवन भरतपुर महानगरपालिका-१२ डेरा गरी बस्ने ४६ वर्षीय उमेश गिरी भन्ने उमेश बहादुर गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०६६ फागुन २७ गतेको फैसलाले सर्वस्व सहित जन्म कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै डेराबाट पक्राउ गरेको हो । पोखरा महानगरपालिका-३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थाकालीलाई उमेश बहादुर लगातयका व्यक्तिहरूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उमेश बहादुर घटनामा संलग्न भएपश्चात भागेर काठमाडौं गएर बसी सोही स्थानबाट सुरूमा कतारमा १२ वर्षीय बसेको, इराकमा ३ वर्ष, अफगानिस्तानमा २ वर्ष बसेपछि ८ वर्ष अगाडी नेपालआई चितवनमा वर्कसप र वाइन पसल खोली आफ्नो परिचय लुकाई बसेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि करागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ ।
यसैगरी, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२८ माझठाना बस्ने ७१ वर्षीय तारानाथ तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालतको २०७९ बैशाख १४ गतेको फैसलाले १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कास्की उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ ।
विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने व्यक्तीहरु पक्राउ
विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत दार्जिलिङ ठेगाना भएका ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचिनगर नगरपालिका-८ बस्ने ३७ वर्षीय बिम माया मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको फेसबुक म्यासेन्जरमा आफू सिरियामा कार्यरत अमेरिकन आर्मी हुँ भन्दै प्रलोभनमा पारी डलर र उपहार पठाई दिएको छु रिसिभ गर्नुहोला भनि उपहार पठाएको जस्तो भान पर्ने गरी सो को भर्पाई पठाएको र पीडितले रकम आवश्यक छैन भन्दा उल्टै Money Laundering मा फस्नु भईसक्यो यदि सो बाट छुट्कारा पाउन चाहनु हुन्छ भने तपाईको WhatsApp Number मा आएको बैंक खातामा रकम जम्मा गरीदिनु भनि डर त्रासमा पारी विभिन्न मिति र समयमा Online Mobile Banking मार्फत विभिन्न बैंक खाताहरुमा पटक पटक रकम पठाउन लगाई ठगी गर्ने कार्यमा उनीहरू संलग्न रहेको खुल्न आएको छ ।
उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी, अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।