विप्लवद्वारा चरणबद्ध आन्दोलनको घोषणा, १३ गते नेपाल बन्द गर्ने

रिपोर्ट नेपाल | 2019 May 23 | 04:34 pm 1745

काठमाडौं, जेठ ९ :  नेत्रविक्रम चन्द ‘विप्लव’ले चरणबद्ध आन्दोलनको घोषणा गरेकाे छ । विप्लवले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे (राजु)लाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि एक विज्ञप्तिमार्फत चरणबद्ध आन्दोलनको घोषणा गरेकाे जनाएकाे छ ।

जारी विज्ञप्तिमा १० र ११ गते भण्डाफोर, कोणसभा, १२ गते देशव्यापी मसाल जुलुस र १३ गते नेपाल बन्द गर्ने जनाइएकाे छ ।

सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको भन्दै नेकपाले विज्ञप्तिमार्फत घोर आपत्ति पनि जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ-‘केपी ओलीको सामाजिक फाँसीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ । हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।

हत्याको साहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन । केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । केपी—पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको छ । केपी सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.