विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामासहित ४ जना थुनामुक्त

रिपोर्ट नेपाल | 2020 Jan 31 | 02:35 pm 1545

काठमाडौ, माघ १७: सरकारद्वारा प्रतिबन्ध लगाई विष्फोटक पदार्थसम्बन्धी अभियोगमा पक्राउ परेका विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामासहित ४ जना थुनामुक्त भएका छन् ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा उपत्यकाका ब्युरो इञ्चार्ज लामासहित भृकुटी भन्ने धिरिन्द्रा कुमारी उपाध्याय, ईश्वर परियार, हितमान भन्ने नविन विश्वकर्मालाई थुनामुक्त गर्ने आदेश गरेको हो ।

उक्त इजलासले अर्का नेता हेमन्त प्रकाश ओलीसहित लोकेन्द्र कुमार खड्का, बुद्धबहादुर सिंताङ, शिव धिमाल, डिकेन्द्र राई, सूर्य भुजेल र दोर्ची शेर्पालाई भने थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको अदालतका प्रवक्त उप रजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

ओली सहितका नेतालाई एनसेलको केन्द्रीय कार्यालयमा वम विष्फोट गराइ एक जनाको हत्या गरेको आरोप छ । उनीहरूको साथबाट हातहतियार बरामद भएको, राई, भुजेल र शेर्पालाई एनसेलका बडिगार्डहरूले विष्फोट गराएको भन्दै सनाखत गरेको आधारमा थुनामै राख्ने आदेश गरेको हो ।

उनीहरूमाथि काठमाडौं लगायतका विभिन्न ठाउँमा बम विष्फोट गराएको, ज्यानमार्ने कसूर गरेको र राज्य विरूद्धको अपराध गरेको भन्दै मुद्दा चलाइएको थियो ।

ललितपुर जिल्ला अदालतले सबैलाई विभिन्न समयमा थुनामा पठाउने आदेश गरेको हो । जिल्लाको आदेश बदर गराउन सबै जना उच्च अदालत गएका थिए । तीमध्ये लामासहित चार जनालाई थुनामा राख्न नपर्ने उच्च अदालतको आदेशमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.