बाँके, कात्तिक ६ : जिल्लाको कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान सोमबारदेखि धमाधम शुरु भएको छ । राप्ती पीडित सामुदायिक वनको टाँचा नं १३५ रुखलाई सङ्घीय सांसद महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीले आरा चलाएर रुख काट्न उद्घाटन गरेका थिए ।
राप्तीपारिको क्षेत्र बघौडामा विद्युत् पुर्याउने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाको धामपुरमा विद्युतको सबस्टेशन निर्माण गरिए पनि कोहलपुरदेखि धामपुरसम्म विद्युतको लाइन विस्तारका लागि वन क्षेत्रले अवरोध पुर्याएको थियो ।
नरैनापुर गाउँपालिकाका सबै वडा र राप्तीसोनारी गाउँपालिकाका केही वडामा विद्युतीकरणका लागि सबस्टेशन धामपुरसम्म ४५ मध्ये ५.३ किलोमिटर वन क्षेत्र पर्ने भएकाले समस्या भएको थियो ।
कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनका लागि कोहलपुरबाट सबस्टेशन धामपुरसम्म लैजाने बाटामा राप्ती पीडित सामुदायिक वन र समय भवानी समाुदायिक वनको २.२ हेक्टर वन क्षेत्रमा भएका सबै बाधाअड्काउ फुकुवा गरी ५.३ किमी रहेका २१४ रुख काट्नलाई स्वीकृतिसँगै टाँचा लगाई रुख काट्न थालनी गरेपछि २०७५ चैतसम्म उक्त क्षेत्रमा विद्युत संचालन हुने बुझिएको छ ।
बघौडा क्षेत्रमा विद्युतीकरणका लागि भएको लामो प्रयासले मूर्तरूप पाएको र आउँदो चैतसम्ममा जुनसुकै हालतमा पनि बघौडा क्षेत्र विद्युतीकरण भएरै छाड्ने सांसद गहतराजले बताए ।