विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावरबीच विद्युत खरिद बिक्री सम्झौतामा हस्ताक्षर

रिपोर्ट नेपाल | 2018 Jun 29 | 05:00 pm 3597

काठमाडौं, १५ असार : नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रवन्ध–सञ्चालक प्रदिपकुमार थिकेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताको मुख्य प्रावधानहरुमा सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहने छ भने आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति ३० चैत २०८० तोकिएको छ ।त्यस्तै, प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जासुख्खायाम(१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा  प्रतियुनिट क्रमशः १२.४० र ६.०८  रुपैयाँमा खरिद गर्नेछ ।

साथै, व्यापारिक उत्पादन सुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिकरुपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा उर्जाको खरिद दर समायोजन गरिने व्यवस्था गरिएको छ । आयोजनाको सुख्खा र वर्षायामको क्रमशः १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ । यदि कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको उर्जा कुल वार्षिक उपलब्ध गराइएको उर्र्जाको ३५ प्रतिशतभन्दा कम भएमा उक्त वर्षको लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाको लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था छ ।

प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि शुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमशः १०.५५ र ४.८० रुपियाँ खरिद दर निर्धारण गरेको छ । प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको उर्जा खरिद गर्नु पर्नेछ । साथै, अतिरिक्त उर्जाको हकमा प्राधिकरणले डिस्प्याच इन्स्ट्रक्शन जारी गरी माथि तोकिएको खरीद दरको ५० प्रतिशत दरमा खरिद गर्ने छ । आयोजनाबाट उच्पादन हुने विद्युत ऊर्जा दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिने सम्झौतामा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.