विद्यालयमा राम्रो पढाइ नभएपछि ट्यूशनका लागि सदरमुकाम धाउन बाध्य

रिपोर्ट नेपाल | 2018 Aug 04 | 11:49 am 5592

रोल्पा , साउन १९ :  विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् ।

विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ ।

विद्यालयले वर्षे बिदा दिएसँगै ट्यूशन पढ्न आउने विद्यार्थीका कारण यतिबेला सदरमुकाममा रहेका कोचीङ सेन्टर भरिभराउ देखिएका छन् । जिल्ला सदरमुकाममा सञ्चालित चार कोचीङ सेन्टरले बिहानी तथा दिवा कक्षामा सयौँ विद्यार्थीलाई पढाइ रहेका छन् ।

“विद्यालयमा कहिल्यै पढाइ पूरा हुँदैन, परीक्षामा भने सबै पाठबाट प्रश्न आउँदा आफुहरूको परिणाम कमजोर हुनसक्ने आशंकाले एक महिना सदरमुकाम बसेर ट्यूशन पढ्दैछु” त्रिवेणी गाउँपालिका नुवागाउँकी विमला पुनले भन्नुभयो । विद्यालयमा कोचीङ पढाउने व्यवस्था नभएकाले खर्च बोकेर सदरमुकाम आउनुपरेको उहाँको गुनासो थियो ।

वर्षे बिदाको खाली समय बिताउन सजिलो हुने थप ज्ञान पनि आर्जन हुने भएकाले गाउँबाट ट्यूशन पढ्न सदरमुकाम आएको परिवर्तन गाउँपालिका इरिवाङकी दीक्षा डाँगीले बताउनुभयो । विद्यालयमा पढाएको बुझ्न गाह्रो भएकाले सदरमुकाम आइ ट्यूशन पढ्न बाध्य भएको त्रिवेणी गाउँपालिका गैरीगाउँकी जीतकुमारी डाँगीको भनाइ थियो ।

ग्रामीण क्षेत्रका विद्यालय अध्ययन गरेका अधिकांश विद्यार्थीको पढाइको स्तर कमजोर देखिएको गोल्डेन ट्यूशन सेन्टरका शिक्षक पृथ्वी डाँगीले जानकारी दिनुभयो । आफूले कक्षा ८, ९, १० र एसइईका करीब ५०० विद्यार्थी पढाइरहेको उहाँको भनाइ थियो

सामुदायिक विद्यालय खुल्नेभन्दा धेरै दिन बन्द हुननाका साथै कहिले शिक्षक नहुने, समयमा पाठ्यपुस्तक नपुग्ने तथा विभिन्न बहानामा विद्यालय बन्द भइरहँदा पढाइ सुधार हुन नसकेको विद्यार्थीहरूको गुनासो थियो ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक अभाब छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.