विद्यालय स्तरमा हाब्रेसम्बन्धी पढाइ शुरु

रिपोर्ट नेपाल | 2018 Sep 06 | 03:19 pm 2522

इलाम, भदौ २१: नेपालमा पाइने विश्वमै लोपोन्मुख मानिएको रेडपाण्डा ( हाब्रे ) जोगाउनका लागि पूर्वको इलामका विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ संचालन भएको छ ।

हाब्रे पाइने ठाँउका विद्यालयका विद्यार्थीहरुलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने लक्ष्य तथा उद्देश्य राखी पढाइ संचालन गरिएको हो । त्यस जिल्लाका विभिन्न ठाँउहरुमा हाब्रे पाइने गरेको तर उचित संरक्षण नहुँदा यसको लोप नै हुँदै गएको छ ।

रेडपाण्डा सम्बन्धी शिक्षा उच्च पहाडी संस्थाको आयोजना र रेडपाण्डा नेटवर्क काठमाडौँको आर्थिक सहयोगमा इलाम जिल्लाका तीन विद्यालयमा पढाइ संचालन गरिएको छ ।

विद्यालयस्तरदेखि नै हाब्रेसम्बन्धी जानकारी गराउन सकियो भने उचित संरक्षणमा टेवा पुग्ने भएकाले पढाइ संचालन गरिएको यस परियोजनाका संयोजक धनबहादुर खाम्दाकले बताए । ति विद्यालयहरुमा विशेष गरी कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुका लागि हाब्रेसम्बन्धी जानकारी दिने उद्देश्य रहेको छ ।

संयोजक खाम्दाकका अनुसार विद्यालयहरुमा पढाई संचालन गर्नु हाब्रेसम्बन्धी मात्र नभई पारिस्थितिक पद्धति, वन तथा वन्यजन्तुलगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरिएको छ ।

जिल्लाका सन्दकपुर गाउँपालिकास्थित जमुनामा रहेका राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय, भानुद्वय माध्यमिक विद्यालय र सन्दकपुर गाउँपालिकाकै माइपोखरीमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा पढाइ संचालन गरिएको हो । यसै वर्ष थप चार विद्यालयमा समेत हाब्रे सम्बन्धी पढाइ संचालन गरिने तयारी गरिएको छ ।

रेडपाण्डा नेटवर्क काठमाडौंका अनुसार इलाम जिल्लामा ३० देखि ३५ वटाको संख्यामा हाब्रेरहेको तथ्याङ्क छ । तर, जिल्लामा हाब्रेसम्बन्धी जनचेतना नभएकाले चोरिशिकारी र कुकुरलगायतका जीवजन्तुबाट जोगाउन नसक्दा भएका हाब्रेसमेत संकटमा परेका छन् । गत केही महिनाअघि मात्र इलाम नगरपालिकाको पुवामझुवामा कुकुरले मारेको अवस्थामा एक हाब्रे फेला परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.