विद्यालय र अस्पतालमा मापसे परीक्षण गरिने

रिपोर्ट नेपाल | 2023 Mar 22 | 01:32 pm 1149

खोटाङ, चैत ८ः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्ने भएको छ । शिक्षक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगीहरूले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परीक्षण गर्ने निर्णय गरिएको मेयर विमला राईले जानकारी दिइन् ।

मङ्गलबार बसेको नगर कार्यापालिकाको बैठकले ब्रेथलाइजरबाट मापसे परीक्षण गर्ने मेसिन खरिद गर्ने निर्णय गरेको हो । नगरपालिकाले ७ वटा मेसिन खरिद गरेर नगरभित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको मेयर राईले बताइन् ।

“केही विद्यालयमा शिक्षकहरू मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । विद्यालयका प्रधानाध्यापकले वार्षिक परीक्षाको प्रश्नपत्र नै मापसे गरेर सिरानी लगाएर सुत्ने, स्वास्थ्य चौकिमा केही स्वास्थ्य कर्मी पनि मापसे गरेर आउने, अझ वडा कार्यालयमासमेत सहयोगी कर्मचारीहरू मापसे गरेर कार्यालय नै नियमित नआउने गरेको गुनासो आएपछि हामीले अब मापसे परीक्षण गर्ने निर्णय गरेका छौँ,” मेयर राईले भनिन् ।

यस्तै, सार्वजनिक ठाउँहरूमा प्राय मापसे गरेर झगडा हुने गरेकाले त्यसको रोकथामका लागि पनि मेसिन खरिद गर्न लागिएको उनको भनाइ छ । कतै झगडा भएमा या कार्यालयहरूमा कोही मापसे गरेर आएको थाहा पाएमा तत्काल नजिकैको प्रहरी चौकीबाट प्रहरी खटिएर मापसे परीक्षण गर्ने छ । यदि मापसे गरेको पाइएमा आवश्यक कारबाही अघि बढाइने मेयर राईले बताइन्।

नगरपालिकाले मेसिन खरिद गरेपछि मापसे परीक्षणका लागि प्रहरीले मुख सुँघ्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.