विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई

| 2020 Nov 19 | 08:09 am 2381

काठमाडौं, मंसिर ४ः कोभिड–१९ का कारण बन्द रहेका शिक्षालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहलाई तोकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचामा स्थानीय तहलाई विद्यालय खोल्न दिने अधिकार दिएको हो । अब स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्न सक्ने भएको छ ।

यसअघि कोभिड संक्रमण कम भएका स्थानीय तहले विद्यालय खोल्दा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बन्द हुने गरेको थियो । कार्यढाँचा पारित भएपछि अब विद्यालय सञ्चालन गर्न बाधा पर्नेछैन ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तहले अवस्था हेरेर विद्यालय खोल्न सक्ने बताए । उनले भने– कार्यढाँचा सार्वजनिक भएको छ, त्यसलाई आधार मानेर कोभिडको अवस्था मध्यनजर गरी विद्यालय खोल्न सक्नेछन् । कार्यढाँचा आउनुअघि केही स्थानीय तहले विद्यालय खोलिसकेका थिए ।

कार्यढाँचा आएपछि अन्य स्थानीय तहले विद्यालय खोल्ने तयारी गरेका छन् । कार्यढाँचामा विभिन्न संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी तोकेर विद्यालय खोल्ने उल्लेख गरेको छ । विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई भए पनि अहिलेकै अवस्थामा उपत्यकामा विद्यालय खोल्न सक्ने अवस्था देखिएको छैन ।

असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोही आधारमा मन्त्रालयले कार्यविधि तयार गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहलाई अधिकार दिएर विद्यालय खोल्ने व्यवस्था गरेको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.