विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

रिपोर्ट नेपाल | 2021 Jan 02 | 09:21 am 2745

बैतडी, पुस १८ः विद्यार्थी अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र  सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो ।

सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए ।

विसं २०६१ देखि विशेष शिक्षा सञ्चालनमा रहेको भए पनि विद्यार्थीको अभावमा बन्द भएको हो । उनले भने, अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा आएको भए पनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको छ ।

पछिल्लो समयमा कोरोना भाइरसका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जनाएका छन् । एकातिर अपाङ्गता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन भने अर्कोतिर अपाङ्गता भएका विद्यार्थीका लागि खोलिएको विशेष शिक्षा बन्द भएको छ । अपाङ्गता भएका विद्यार्थीलाई विद्यालय पुग्नका लागि सहज वातावरण नै नबनेको जिल्ला अपाङ्ग सङ्घका उपाध्यक्ष लक्ष्मी विष्टले बताए । उनले भने, अपाङ्गता भएका विद्यार्थीका लागि अपाङ्गमैत्री संरचना नहुँदा झन समस्या छ, विशेष शिक्षामा अपाङ्गता भएका विद्यार्थीको पहुँच नै पुग्न सकेको छैन ।

अपाङ्गता भएका विद्यार्थीका लागि सरकारले शिक्षामा पहुँच पुर्याउने नीति लिएको भए पनि सो नीतिअनुसार काम हुन नसकेको उनीहरुको गुनासो रहेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा ल्याइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.