विजय मृत्यु प्रकरणमा एसपी सहित ६ जना विरुद्ध किटानी जाहेरी

रिपोर्ट नेपाल | 2020 Sep 09 | 06:25 pm 2034

रौतहट, भदौ २४ः प्रहरीको चरम यातनाबाट आफ्नो छोराको मृत्यु भएको भन्दै मृतक विजयराम महरा (चमार) का बुबा पनिलाल चमारले आज बुधबार जिल्ला सरकारी वकिल कार्यालय रौतहटमा किटानी जाहेरी दिएका छन् ।

पनिलालले तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबीराज खड्का, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतो, इनेस्पेक्टर नवीनकुमार सिंह, हवल्दार मुना सिंह र फिरोज धुनियाँका विरुद्ध यातना तथा ज्यान सम्बन्धि किटानी जाहेरी दिएका हुन् ।

आफ्नै नता पर्ने निरन्जन रामको हत्याको अभियोगमा पक्राउ परेका विजयराम महरालाई जिल्ला प्रहरी कार्यालयबाट गएका इनेस्पेकटर नवीनकुमार सिंह, हवल्दार मुना सिंह र फिरोज धुनियाँले चरम यातना दिएका कारण बेहोस भएको र उपचारको क्रममा वीरगञ्गस्थित नेशनल मेडिकल अस्पतालमा मृत्यु भएको मृतकका बाबुको दाबी रहेको छ ।

गत भदौ ११ गते मृत्यु भएका विजयको शव अहिलेसम्म परिवारले उठाएको छैन । बुधबार अपरान्ह मृतकका बुबा पनिलाल चमार दलित अधिकारकर्मी सहित जिल्ला सरकारी वकिल कार्यालय पुगेर किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले आवश्यक अनुसन्धानका लागि पत्र सहित जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

निरन्जन रामको हत्याको अनुसन्धानका लागि डिएसपी महतोले आफ्नै मातहतका इनेस्पेक्टर केदारमान दोङलाई तोके पनि जिल्लाबाट आएका नवीनकुमार सिंहको टोलीले दोङलाई पाखा लगाएर हिरासतबाट बाहिर निकाली चरम यातना दिएको मृतकका बाबुको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.