विघटन हुन लागेको नेविसंघको म्‍याद थप्‍ने तयारी

| 2018 Nov 16 | 11:40 am 1536

काठमाडौं, कार्तिक ३० : विधानअनुसार २ मंसिरबाट विघटनको संघारमा रहेको नेपाल विद्यार्थी संघको म्याद थप्न माउ पार्टी कांग्रेस अघि सरेको छ। कांग्रेसले आगामी शनिबार नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्नेबारे निर्णय गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको हो। नेविसंघमा उमेर विवादका कारण पूर्वनिर्धारित महाधिवेशनको मितिसमेत टरिसकेको छ ।

२ भदौमा नै नेविसंघको निर्वाचित कार्यसमितिको दुईवर्षे म्याद सकिएकोमा माउ पार्टी कांग्रेसले विधानअनुसार नै तीन महिना थप गरी वर्तमान कार्यसमितिको म्याद २ मंसिरसम्मका लागि बढाएको थियो। यो समयावधिभित्र समेत महाधिवेशन हुने अवस्था नभएर विघटनको नजिक पुगेपछि फेरि पनि समय थप गर्ने तयारी गरिएको हो ।

कांग्रेसले २१ असोजको केन्द्रीय समिति बैठकबाट नै नेविसंघ विधानमा ३२ वर्षे उमेर हद राख्ने भन्दै बहुमतले निर्णय पारित गराएपछि पार्टीभित्र नै विवाद हुँदै आएको छ । शीर्ष नेताहरू नै विधानमा उमेर हद लगाउने निर्णय बहुमतका आधारमा गरिएको र नेविसंघले बुझाएको विधानलाई तोडमोड गरेर प्रक्रिया बिथोलेको भन्दै नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार डाकिएको केन्द्रीय समिति बैठकमा महासमिति बैठक, बैठकको आन्तरिक तयारी, विधानको वर्तमान अवस्था र नेविसंघका विषयमा छलफल हुने जनाए । ‘बैठकमा महासमिति बैठक, बैठकको आन्तरिक तयारी, विधानको वर्तमान अवस्था र म्याद सकिन लागेको वर्तमान नेविसंघको निर्वाचित कार्यसमितिका विषयमा छलफल हुन्छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने । उनले नेविसंघको विषयमा म्याद थप गर्ने कि विघटन गरेर तत्कालका लागि अर्को तदर्थ समिति बनाउने भन्नेमा बैठकमा छलफल हुने बताएका हुन् ।

सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार सभापति देउवा भने वर्तमान कार्यसमितिलाई नै बाधा अड्काउ फुकाएर अगामी स्ववियु निर्वाचनसम्म समय दिने पक्षमा छन् । अर्को समिति बनाउँदा समेत विवाद हुने अवस्था रहेको बुझाइपछि सभापति देउवा वर्तमान समितिलाई नै नेताहरूबीचको सहमतिमार्फत आगामी स्ववियु निर्वाचनसम्म समय थप गर्ने मनस्थितिमा पुगेका हुन्।

कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने नेविसंघका विषयमा के गर्ने भन्नेबारे केन्द्रीय समिति बैठकले नै निर्णय लिने जनाए । कांग्रेसले २८ मंसिरदेखि ३ पुससम्म गर्ने गरी महासमितिको बैठकसमेत बोलाएको छ । महासमितिको सो बैठकका तयारीबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।

यस्तै, विधान मस्यौदा समितिले विधानका विषयमा गरिरहेको कामको प्रगतिका विषयमा समेत बैठकमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.