वालविवाह गर्ने तथा गराउने ३ जना पक्राउ

| 2021 Jul 15 | 07:24 pm 2509

पर्सा, असार ३१ः वालविवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेको अभियोगमा पकाहामैनपुर गाउँपिलका-१ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, सोही ठाउँ बस्ने ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

महेश र ठगले आपसी सहमति गरी धोरेस्थित भुटनदेवी मन्दिरमा विशालसँग २०७७ माघ १९ गते १७ वर्षीया किशोरीसँग वालविवाह गराएको खुल्न आएपछि वालविवाह गर्ने विशाल र वालविवाह गराउने कार्यमा संलग्न महेश र ठगलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

पर्सा, पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका-२ पिपरा टोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कानुले ती किशोरीलाई असार १४ गते दिउँसो विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका-४ स्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरी आफूसँगै राखी पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बाँसको डण्डा प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

कञ्चनपुर, बाँसको डण्डा प्रहार गरी भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आपसी झगडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले गिरधारीलाई पक्राउ गरेको हो । साथै घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.