वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष थिए : प्रधानमन्त्री ओली

| 2019 Mar 01 | 04:29 pm 1798

काठमाडाैँ, फागुन १७ :   प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोलेका हुन् ।

प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजेको बताए। अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको भन्दै उनले भने, ‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । तर, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे । जो सम्पूर्ण रुपमा निराधार कुरा हो ।’

‘उहाँले कुनै लोभलालचका लागि होइन र वहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी वहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो ।’ उनले भने, तर पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ।’

वाइडबडीका बारेमा रबिन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘मलाई दुःख लाग्छ कि वहाँ जस्तो कर्मठ, क्रियाशिल मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो।’

मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ६ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी, विराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर उहाँ त्यस तर्फ जानुभएको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले भने, ‘तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर उहाँ जानुभएको थियो।’

ढिलोमा तीन वर्ष भित्र सो ठाउँमा बिमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताए।

मन्त्री अधिकारी विमानस्थलहरुको अध्ययन भ्रमणकै क्रममा हिजो बिहिबार जर्मनीको म्यूनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले भने,‘हिजो उहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो। त्यहाँ जानुको अर्थ पनि थियो कि म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डलिङ बनाउने, एहाँहरूसँग सहकार्य गर्ने उहाँले योजना बनाउनु भएको थियो।’

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता,मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.