वर्षा र हिमपातले देशभर सकस

रिपोर्ट नेपाल | 2021 Dec 30 | 07:57 am 2193

काठमाडाैं, पुस १५ः  मुलुकका अधिकांश भूभागमा बुधबार वर्षा भएको छ। यससँगै पहाडी र हिमाली क्षेत्रमा हिउँ परेको छ। यसले जाडो बढाएको छ। दैनिक जीवनयापन कष्टकर बनाएको छ। यात्रामा रहेकाहरूले असहजता खेप्नुपरेको छ। तर, किसानलाई फाइदै फाइदा रहेको विज्ञ बताउँछन्।

हिउँदे बालीलाई यस बेलाको झरी लाभदायी हुने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। उनका अनुसार हिमाली भूभागमा हिउँदे झरी सिँचाइको प्रमुख माध्यम बन्छ। आलु, जौं, गहुँ र स्याउलाई यसले फाइदा पुर्‍याउँछ। ‘हिमाली भेगमा हिउँदमा अति कम वर्षा हुन्छ’, पौडेलले भने, ‘हिउँदभरिमा दुई-तीनपटक मात्र पानी पर्ने भएकाले त्यसले कृषिलाई राम्रो गर्छ।’

उनका अनुसार यो बेलाको झरीले वातावरण पनि स्वच्छ राख्न टेवा दिन्छ। जाडोका बेला सहर तथा उपत्यकाको तल्लो तहमा थुप्रिको प्रदूषणलाई पखाल्ने उनको भनाइ छ। यस्तै पानी परेपछि हिमालमा हिउँ थुप्रिँदा हिमनदीका पानीका स्रोत ‘रिचार्ज’ हुने उनले बताए। ‘तर, झरीले जाडो बढाउँछ। हिउँले सडक अवरुद्ध हुन्छन्। उड्डयन प्रभावित हुन्छन्। हाम्रो दैनिकीलाई प्रभावित पार्छ’, उनले भने, ‘तापनि फाइदाका पक्ष धेरै हुन्छन्।’

हिउँले साना बिरुवा नास गर्न सक्ने भएकाले त्यसबाट जोगाउन विभिन्न उपाय अपनाउन सक्ने उनको भनाइ छ। ‘अन्य बाली, बिरुवालाई सिँचाइको काम गर्छ। जति हिउँ पर्‍यो त्यति नै धेरै बाली फल्छ भन्ने जनविश्वास छ’, उनले भने, ‘यो झरी जमिन रिचार्जका लागि र वाटर रिसाइकलका लागि एकदमै राम्रो हुन्छ।’

उनका अनुसार बिहान तराईतिर बाक्लो हुस्सु लाग्न सक्ने भएकाले सवारी साधन चलाउँदा सचेत हुनुपर्छ। यो झरीले गलेको ठाउँबाट ढुंगा खस्नेलगायत समस्या भए पनि अन्य समस्या नल्याउने उनले बताए।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहानसम्म १ सय ९१ वटा वर्षा मापन स्टेसनले झरी परेको देखाएको छ। कैलालीको चिसापानीमा सबैभन्दा धेरै ४२.१ मिमि वर्षा भएको छ। गोरखा, पाल्पासहित पाँचवटा केन्द्रमा २५ मिमिभन्दा धेरै वर्षा भएको छ। ७९ वटा मापन केन्द्रले १० मिमिभन्दा बढी पानी परेको मापन गरेका छन्।

हावापानी विश्लेषण महाशाखा प्रमुख इन्दिरा कँडेलका अनुसार काठमाडौं उपत्यका वरिपरि शिवपुरी, चन्द्रागिरि, फुलचोकीमा हिमपात भएको छ। जुम्लामा १२ सेन्टिमिटरसम्म हिउँ थुप्रिएको खबर आएको कँडेलको भनाइ छ।

मंगलबार साँझदेखि नै काठमाडौंलगायत विभिन्न स्थानमा वर्षा सुरु भएको थियो। तर, निरन्तर एकैनासको वर्षा भएको छ। यस वर्षाले कुनै पनि प्रकारको खतरा निम्त्याउँदैन। बरु किसानका लागि फाइदा भएको उनको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीका अनुसार बिहीबारदेखि मौसममा सुधार आउनेछ। पश्चिमी न्यून चापीय प्रणाली र राजस्थानमा बनेको न्यून चापीय प्रणालीका कारण यो वर्षा भएको हो। ‘बिहीबारदेखि पश्चिम हुँदै सुधार भएर जानेछ’, वासीले भनिन्, ‘आज (बुधबार रातिसम्म सक्रिय वर्षा भोलि (बिहीबार) रोकिनेछ।’

पश्चिमी क्षेत्रमा सोमबारदेखि नै मौसम बदली भएको हो। काठमाडौंमा मंगलबारदेखि बादल लाग्नुका साथै रातिदेखि पानी परेको थियो। वर्षा रोकिएसँगै हिमपात कम हुने र चिसो घट्ने उनले बताइन्।

उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात 
मुस्ताङका लोमान्थाङ, लो-घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा भारी हिमपात भएको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उपल्लो मुस्ताङको समरबाट कोरला नाकासम्म दुई फिट हिउँ जमेको छ। तल्लो मुस्ताङका तीन स्थानीय तहमा एक फिटभन्दा बढी हिउँ जमेको शर्माले बताए। भने, ‘स्थानीयलाई चिसो र हिमपातबाट सुरक्षित रहन अनुरोध गरेका छौं ।’

बागलुङबाट उपल्लो मुस्ताङ पुगेर फर्किएका पर्यटक सवार जिप वारागुङ मुक्तिक्षेत्र-३ समरको भीरनजिक राति करिब ९ बजे हिउँमा फसेको उनले बताए। यात्रुलाई उद्धार गरी समरको होटलमा राखिएको छ।

धार्मिक स्थल मुक्तिनाथ क्षेत्र आसपास मंगलबार अपरान्हदेखि हिउँ परिरहेको झारकोट स्वास्थ्यचौकीका अहेव सुवास अधिकारीले बताए। उपल्लो मुस्ताङमा लेकदेखि बस्ती सबै हिउँले सेताम्मे बनेको सीमा प्रहरी कार्यालय लोमान्थाङका प्रहरी इन्चार्ज असई रमेश थापाको भनाइ छ।

किसान खुसी 
मुस्ताङमा अनुकूल समयमा सिजनकै पहिलो हिमपात भएपछि किसानमा उत्साह सञ्चार भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख ऋषि बरालले बताए। स्याउबारी व्यवस्थापन तथा उवा, जौ छर्ने समयमा हिउँ परेकाले फाइदा पुगेको उनको भनाइ छ।

यो बेला हिउँले बालीलाई सिन्चित गर्न मद्दत पुग्ने घरपझोङ-२ मार्फाका दीपक लालचनले बताए। हिउँले अन्नबाली तथा स्याउको बोटको जरासम्म सिञ्चित गर्दै जमिनको सतहलाई रिचार्ज गर्ने उनको भनाइ छ। बालीनालीमा लाग्ने विभिन्न रोग संक्रमणलाई पनि न्यूनीकरण गर्ने उनले बताए।

केही वर्षदेखि अनुकूल मौसममा हिउँ पर्न नसक्दा स्याउको बोटमा विभिन्न रोगको संक्रमण देखापरेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए। यो वर्ष भने स्याउ तथा अन्य कृषि बालीको उत्पादन तथा गुणस्तरमा वृद्धि हुने आशा बस्ताकोटीले व्यक्त गरे।

मनाङको तापक्रम माइनस २ डिग्रीमा झरेको छ। ‘चिसो अत्यधिक बढेको छ। कोही पनि घरबाहिर निस्कन सकेका छैनन्’, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने, ‘मंगलबार र बुधबार गरी सदरमुकाममा २ फिट र माथिल्लो मनाङ क्षेत्रमा ३ फिटभन्दा बढी हिउँ जमेको छ।’ बाक्लो हिमपातका कारण सडक अवरुद्ध बनेको छ।  आचार्यले भने, ‘राति चामेको तापक्रम माइनस ७ डिग्री सेल्सियस थियो। अहिले माइनस २ डिग्री सेल्सियस छ।’

मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार हिउँ जमेको बाटो खुलाउन सकिएको छैन। गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने हुँदा किसान खुसी भएको बताए। लमजुङका उच्च पहाडी क्षेत्रमा बुधबार पनि हिमपात भएको छ। तल्लो क्षेत्रमा झरी परेको छ।

साविक मेचीका ताप्लेजुङ, इलाम, पाँचथरलगायत जिल्लाका लेकाली क्षेत्रमा हिमपात भएको छ। अन्य क्षेत्रमा हावाहुरीसहित वर्षा भएको छ। जसकारण हिमाली क्षेत्रका लेकाली गोठका पशुपालकलाई समस्या भएको छ। अन्यत्रका किसानलाई लामो समयको खडेरीपछि भएको वर्षाले राहत मिलेको छ।

ताप्लेजुङका ओलाङ्चुङगोला, घुन्सा, पाथिभरा क्षेत्र, पापुङलगायत स्थानमा भारी हिमपात भएको छ। सदरमुकाम फुङलिङको सुकेटार क्षेत्रसम्म नै बाक्लो हिमपात भएको छ। ओलाङ्चुङगोलामा करिब २ फिटसम्म हिउँ परेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता गोलाका छेतेन वालुङले बताए। गोलाको न्यूनतम तापक्रम घटेर माइनस ८ डिग्री सेल्सियससम्म झरेको छ।

पाँचथरको पर्यटकीय स्थल पौवाभञ्याङ आसपासमा भएका हिउँ हेर्नेहरू डाँडामा पुगेका स्थानीयवासी तासी शेर्पाले बताए। सुकेटार क्षेत्रमा हिउँ खेल्न पुग्नेको घुइँचो लागेको छ।

रामेछापको उच्च भेगमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। दोरम्बा शैलुङ, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा हिमपात भएको हो। उमाकुण्ड गाउँपालिकाका ७ वटै वडामा हिमपात भएकाले सवारी साधन सञ्चालनमा अवरोध भएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए।

नुवाकोट र रसुवामा हिमपात हेर्न जानेको भीड बढेको छ। यद्यपि अत्यावश्यक काम बिना घर बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ। हिमपातका कारण जिल्लावासीका दैनिकी प्रभावित भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिइन्।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात भएको छ। यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् भने करिब चार फिटसम्म हिउँ जमेको टुटेदेउरालीका श्री कार्कीले बताए।

सडक र हवाई यातायात प्रभावित 


कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा मंगलबार रातिदेखि बाक्लो हिमपात भएको छ। कालिकोट, दैलेख र जाजरकोटका उच्च स्थानमा पनि वर्षासँगै हिउँ परेको छ। जसकारण हवाईसेवा प्रभावित भएको छ  । केही ठाउँमा सडक यातायात अवरुद्ध छ। जहाज नचलेपछि यात्रु अलपत्र परेका छन्। विमानस्थल हिउँले ढाकिएका छन्। मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज जाने यात्रु मुगुमै रोकिएका छन्। यात्रुले  होटलहरू भरिएका सीता एयरका शिवराज भामले बताए।

जुम्लाको कनकासुन्दरीका जयबहादुर बुढाले भने, ‘चिसो बढेको छ।घरबाहिर निस्कन सकेका छैनौं। सडकमा हिउँ जमेका कारण गाडी पनि चलेका छैनन्।’

बाक्लो हिमपातका कारण जनजीवन कष्टकर बनेको मुगुका प्रहरी प्रवक्ता जनकबहादुर धामीले जनाए। जुम्ला र हुम्लाका पाटनमा पनि हिउँ जमेकाले भेंडा, च्यांग्रा र चौंरी भोकै भएको किसानको गुनासो छ।

सुदूरपश्चिममा तराईका दुई जिल्ला कैलाली कञ्चनपुरबाहेक पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, डोटीको उच्च लेकाली क्षेत्र, बझाङ, बाजुरा र अछाममा हिमपात भएको छ। मंगलबार रातिदेखि उच्च हिमाली क्षेत्रमा हिउँ परेको हो । बेसीतिर वर्षा भएको छ। चिसोले जनजीवन कष्टकर भएको बडिमालिका-७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए। भारी वर्षाले बाजुराका ग्रामीण सडक अवरुद्ध छन्।

हिमपात र अत्यधिक वर्षाका कारण मार्तडी-कोल्टी सडक अवरुद्ध भएको जय मालिका यातायातका कर्मचारी चक्र बडुवालले बताए। पूर्वोउत्तर क्षेत्रको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीबाट रिफर गरेका बिरामी हिमपताका कारण जिल्ला अस्पताल आउन नसकिरहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर प्रकाश जोशीले बताए।

मार्तडी कोल्टी सडक खण्डको पोरखे लेकमा ५  फिटभन्दा बढी हिउँ जमेको छ। जसकारण उत्तरी क्षेत्र कोल्टी र छिमेकी जिल्ला हुम्ला मुगु कालिकोटका स्थानीय बाटोमा अलपत्र परेका छन्।

बाजुराका बडिमालिका, बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नथ, गौमूल, खप्तड छेडेदह गाउँपालिकाको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्थाहरू प्रभावित भएका जिल्ला शिक्षा एकाइले जानकारी दिएको छ।

बाजुराको पूर्वी उत्तर क्षेत्रको टेलिफोन सेवा अवरुद्ध भएको छ। सोलारको ब्याट्री चार्ज हुन नपाएपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख पदम बडालले बताए।

लगातारको खडेरीले बालीनाली सुक्दै गएको बाजुराका किसान खुसी भएका छन्। वर्षाले गहुँ लगायतका हिउँदे बालीका लागि निकै फाइदा पुर्‍याएको बाजुरा जिल्ला कृषि ज्ञानकेन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए।

डडेल्धुरामा भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग मंगलबार रातिदेखि अवरुद्ध भएका थिए। ती दुवै राजमार्ग बुधबार अपराह्न खोलिएका छन्।

स्थानीय तहका डोजर, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी तथा यात्रुहरूको सहयोगमा राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दीपेन्द्र पालले बताए। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भीमदत्त राजमार्गको हगुल्टे, साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात सुरु भएको हो।

दार्चुलामा सबैभन्दा बढी मालिकार्जुन गाउँपालिका, व्यास गाउँपालिका र नौगाड गाउँपालिकामा ४ फिट बाक्लो हिमपात भएको छ। चिसोले जनजीवन कष्टकर बन्नुका साथै दैनिक कामकाजमा समेत समस्या भएको व्यास गाउँपालिकाका स्थानीय पदम भट्टले बताए। भने, ‘भारी वर्षाले ग्रामीण सडकहरू बन्द हुनुका साथै ४/५ फिट हिउँ परेको छ।’

दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड, अपि हिमाल, न्वालपानी, दल्लेख लगायतका क्षेत्रमा बाक्लो हिउँ परेको छ।  चिसो बढेकाले २ साता विद्यालयमा जाडो बिदा गर्ने तयारी गरिएको सम्पाल माविका प्रधानाध्यापक बल्देव सिंह धामीले बताए।

बझाङका साइपाल, सुर्मा, छविसपाथीभेरा, मस्टा, तल्कोट गाउँपालिका र जयपृथ्वी र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ। साइपाल गाउँपालिका धुलीका स्थानीय बसन्तबहादुर बोहराले लेकतिर बाक्लो हिउँ परेको र गाउँमा समेत हिमपात भएको बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.