ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवीद्वारा शुभकामना

| 2019 Mar 07 | 09:10 am 1717

काठमाडौं, फागुन २३ : नेपाल एक बहुल जाति, भाषा, धर्म र संस्कृतिको धनी देश हो । यहाँ आफ्नो जातजाति अनुसार विभिन्न किसिमका फरक फरक चाड पर्व मनाउने गर्दछ ।

यसै क्रममा आज शेर्पा जातिले मनाउने ग्याल्बो ल्होसार, देशभरका शेर्पा समुदायलगायत बौद्ध धर्मावलम्बीले मनाउने गर्दछन् । यस शेर्पा समुदायले ग्याल्बो ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने चलन छ। भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ।

आजैकै दिनदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी यो पर्व मनाइन्छ। यस ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा तथा बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण राख्न ल्होसारले सघाउने विश्वास व्यक्त गरिन्।

राष्ट्रपतिको सन्देशमा यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभेच्छा पनि प्रकट गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.