मुस्ताङ, जेठ १४: पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा सडक बत्ती सञ्चालनमा आएका छन् । अमेरिकन हिमालयन फाउन्डेसका अध्यक्ष रिचार्ज भोलुमकी छोरी हाइटी भोलुमले बत्तीको उद्घाटन गरिन्।
फाउन्डेसनले सडक बत्ती जडान गर्न आर्थिक सहयोग गरेको थियो। सन् २०२० देखि सुरु गरिएको सडक बत्ती जडानको जिम्मा स्थानीय उपभोक्ता समितिले लिएको थियो। बजारको भित्री र बाहिरी क्षेत्रको १४६ वटा विद्युत् पोलमा बत्ती जडान गरिएको जिग्मे फाउन्डेसनका कोषाध्यक्ष लोप्साङ छोम्पेल विष्टले जानकारी दिए।
अब यहाँका सडक चौबिसैघण्टा झिलिमिली हुनेछन्। ४९ लाख लागतमा बत्ती जडान र विद्युत् पोललाई कलात्मक बनाउने काम भएको हो। धार्मिक कलासंस्कृति, ऐतिहासिक सम्पदा, उपल्लो मुस्ताङी समुदायको पृथक् मौलिकता, रहनसहन र फरक भूगोलका कारण उपल्लो मुस्ताङ पर्यटकीय दृष्टिकोणले प्रसिद्ध छ।
उपल्लो मुस्ताङको महत्वपूर्ण धार्मिक पर्व तिजीको अवसरमा सडकबत्ती उद्घाटन गरिएको उपभोक्ता समितिका अध्यक्ष छेवाङ गुरुङले जानकारी दिए।
बत्तीसँगै तिजी पर्वको रौनकता थपिएको उनले बताए। यहाँ नेपाल केन्द्रीय विद्युत् लाइन विस्तार गरेसँगै बत्ती जडानमा सहज भएको हो। सडक बत्तीको विद्युत् महसुल र मिटर बक्स जडानमा लोमान्थाङ गाउँपालिकाले खर्च व्यहोर्ने सम्झौता भएको छ। अन्नपूर्ण पाेस्ट अनलाइनबाट