लैनचौर र ऐकेडेमी मोडमा ट्राफिक लाईटबाट सवारी व्यवस्थापन

रिपोर्ट नेपाल | 2021 Mar 22 | 08:08 pm 3285

काठमाडौँ, चैत ९ः महानगरीय ट्राफिक प्रहरी महाशाखा र माछापुच्छ्रे बैंक लिमिटेडवीचको सहकार्यमा लैनचौर र ऐकेडेमी मोडमा ट्राफिक लाईट जडान गरी साेमबार देखि सञ्चालनमा आएको छ । नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र माछापुच्छ्रे बैंक लिमिटेडका सिइओ सन्तोष कोईरालाले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको वताए । प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक
अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।

हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्ने प्रयासरत छौ, यसको लागि सडक बिभाग बाहेक स्थानीय निकाय, बिभिन्न बैंक बित्तिय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं । त्यसैको परिणाम स्वरुप आज लाईट जडान भएको छ र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका सिईओ कोईरालाले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताए ।

उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरे ।

सिईओ कोईरालाले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको प्रशंसा गरे ।

उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, बैंकका सिईओ, डाइरेक्टर, कामनपा २ र ३ का वडा अध्यक्षहरु, बैंकका पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

साेमबारबाट शुरु भएका २ वटा ट्राफिक लाईट समेत गरि महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३१ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन गर्न शुरु गरेको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागि
समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.