लैंगिक उत्तरदायी बजेटको अवस्थामा सुधार

रिपोर्ट नेपाल | 2021 Sep 02 | 07:54 am 1497

काठमाडाैं, भदाै १७ः बजेट, कार्यक्रम तथा नीतिहरूमा महिलाको पक्षमा सुधार हुँदै आएको छ । संघीय सरकारका पछिल्ला चारवटा बजेटमा लिंगीय समानता तथा सामाजिक समावेशीकरण (जेसी) मा सुधार हुँदै गएको देखिएको हो ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीय सरकारको चालू आर्थिक वर्ष २०७८-०७९ समेत गरी आव २०७७-०७८, आव २०७६-०७७, आव २०७५-०७६ मा गरेको जेसी बजेट प्रवृत्तिसम्बन्धी अध्ययनले सुधार हुँदै गएको देखाएको हो । अन्तर्राष्ट्रिय रूपमा प्रचलित विभिन्न मापदण्डको आधारमा जेसीका लागि प्रत्यक्ष उत्तरदायी, अप्रत्यक्ष उत्तरदायी र तटस्थ उत्तरदायी गरी तीन किसिमको सूचक निर्माण गरिएको छ । जसमा ५० भन्दा बढी अंक प्राप्त गरेमा प्रत्यक्ष उत्तरदायी र २० भन्दा कम अंक प्राप्त गरेमा तटस्थ उत्तरदायी मानिन्छ । सरकारले चालू आवको बजेटमा प्रत्यक्ष उत्तरदायी जेसी सबैभन्दा बढी ३९.४९ प्रतिशत देखाएको छ । यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतिशत हो ।

पूर्वसचिव कृष्णहरि बाँस्कोटा १५ वर्षअघि यो अवधारणा सुरू हुँदा महिलाको पक्षमा जम्मा ११ प्रतिशत बजेट विनियोजन हुने गरेकोमा अहिले ३९ प्रतिशत विनियोजन हुनुले सुधार हुँदै गएको बताउँछन् । भन्छन्, “बजेट, नीति, कार्यक्रममा प्रत्यक्ष उत्तरदायी जेसीको अनुपातमा क्रमशः सुधार हुँदै गएर ४९ प्रतिशतसम्म पु-याउनुपर्छ ।” रोजगारी, आयआर्जन, राज्यले प्रवाह गर्ने सेवासुविधा, नीति, नियम, कार्यक्रम आदिमा सकारात्मक विभेदीकरणको अवधारणाले उल्लेख्य परिवर्तन ल्याएको उनको भनाइ छ ।

“सकारात्मक विभेदीकरणले महिलाको नाममा लालपुर्जा ७ बाट वृद्धि भएर २८ प्रतिशत पुगेको छ भने निजामती सेवामा महिलाको संख्या ४.५ प्रतिशतबाट वृद्धि भएर २२ प्रतिशत पु-याएको छ,” उनले भने ।

प्रत्यक्ष उत्तदायीमा चार आर्थिक वर्षमा चालू आवको बजेटमा सबैभन्दा धेरै ३९.४९ प्रतिशत विनियोजन भएको पाइन्छ । यस्तै अप्रत्यक्ष उत्तरदायीचाहिँ चार आर्थिक वर्षहरूमा सबैभन्दा धेरै आव ०७५-०७६ मा ३५.५६ प्रतिशत विनियोजन भएको देखिन्छ । यस्तै तटस्थमा सबैभन्दा धेरै आव २०७६-०७७ मा २७.०७ प्रतिशत विनियोजन भएको थियो ।

जेसी अवधारणाले विश्वव्यापी रूपमा महिला सशक्तीकरण, सहभागिता, लाभ, आयआर्जन, रोजगारीको अवसर, कार्य समय र गुणस्तर सुधारलगायतमा विशेष ध्यान दिन्छ । सन् १९९५ मा चीनको बेइिजङमा भएको महिला सम्मेलनबाट सुरु भएको जेसी अवधारणालाई सन् २००० मा अमेरिकाको न्यूयोर्कमा भएको सम्मेलनले पुनरावलोकन गरेको थियो । जेसीका लागि संयुक्त राष्ट्रसंघ मातहतको यूएन वुमनले सघाउँदै आएको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.