‘लुटेर’ खानु पर्छ भन्ने गीत जनताले मन पराएनन् : प्रधानमन्त्री ओली

| 2019 Feb 20 | 05:53 pm 1795

काठमाडौं,  फागुन ८ : गायक पशुपति शर्माको गीत युट्युवबाट हटटाइएको बारे प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पहिलोपल्ट प्रतिक्रिया जनाएका छन् ।

सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘लुट्नु पर्छ’ भन्ने सन्देश बोकेको गीत जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको बताए ।

उनले प्रदेशसभामार्फत गीतका बारेमा भने, ‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं । एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्री ओलीले थपे, ‘जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन् ।’

उनले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गर्न भ्याए । उनले भने, ‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन् । हाम्रो त बाटै त्यही २५ हजार पुरस्कार दिन्छु भनछन् । मलाई अचम्म लाग्छ, हामी कता जान खोज्दैछौं,’ प्रधानमन्त्रीले ओलीले भने ।

सरकारले गीत हटाउन कुनै निर्देशन जारी नगरेको पनि स्पष्ट पारेका छन् । यसअघि सत्तारूढ दलको भातृ संगठन युवा संघका नेताले गायक शर्माको ‘लुट्न सके लुट’’ बोलको गीत युट्युबबाट हटाउन भनेको जनाइएको छ । राजनीतिक सुझाव आएकाले आफूले गीत हटाएको शर्माले बताएका थिए । उक्त गीतमा प्रयोग भएका केहि शब्दहरुलाई लिएर सामाजिक सञ्जालमा बहस नै चलेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.