लिम्पियाधुरासहित नेपालको नक्सा पारित गर्ने सरकारकाे ऐतिहासिक निर्णय

रिपोर्ट नेपाल | 2020 May 19 | 07:47 am 1884

काठमाडाैं, जेठ ६ः सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको बताए । नक्सा नेपालको सबै किसिमका प्रशासनिक र सबै प्रबन्धमा प्रयोग गरिने गरी सरकारले अघि बढाएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानाहरुमा खास गरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको उनको भनाइ छ । यो नक्सामा संघीयताअनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । अरु अन्तर्राष्ट्रिय सीमा यथावत् रहेको पनि उनले बताए ।

अब यो नक्साबमोजिम निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्सा, विद्यालयमा पाठ्यपुस्तकहरु सबै सार्वजनिक प्रयोगमा हुने नक्सा नै अद्यावधिक हुने उनले बताए । मन्त्री डा खतिवडाले सरकारले तोकिएको दिनमा नै बजेट संसदमा पेस गर्ने गरी तयारी अघि बढिरहेको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.