लाङटाङको भ्रमण गर्ने पर्यटकको बढ्याे

रिपोर्ट नेपाल | 2018 Nov 06 | 05:20 pm 1911

रसुवा, २० कात्तिक : पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ ।

स्थानीय पर्यटन व्यवसायी ढिण्डुप तामाङका अनुसार हिजोआज दैनिकरुपले पर्यटकीय मार्गमा स्वदेशी २० र विदेशी ६० पर्यटक आवतजावत गर्न थालेकाले अहिले हिमाली क्षेत्रको रौनक बढेको छ । भूकम्पपछिको आवास पुनःनिर्माणअन्तर्गत नयाँ बनेका संरचनाको होटल तथा लज बढेको र समुद्री सतहदेखि तीन हजार ९०० मिटरको उचाइ क्याङजेन पहाडलाई केन्द्र बनाएर पर्यटकले अल्का हिमशृङ्खला अवलोकन गर्न थालेको पर्यटन व्यवसायीहरूले बताए।

पर्यटकका लागि पदमार्गका विभिन्न ठाउँमा होटल तथा लज खुलेकाले खान र बस्न कुनै समस्या नभएको बताउँदै पर्यटन व्यवसायी तामाङले लाङटाङ क्षेत्रको मार्गअन्तर्गत लामा होटलमा करीब ६०, तवेलामा दुई थाङसामा छ, लाङटाङमा १५, मुण्डुमा छ, सिन्दुपमा दुई र क्याङजेनमा ४५ होटल तथा लज सञ्चालनमा रहेको जानकारी दिए ।

विसं २०७२को भूकम्प अघिभन्दा अहिले होटल लजको सङ्ख्या दोब्बर बढेको बताइएको छ । यी होटल तथा लजले आगन्तु आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिएबापत प्रत्येक होटलले प्रतिदिन १५ देखि २५ हजारसम्म आम्दानी गर्न थालेकाले पर्यटन व्यवसायबाट जीविकोपार्जन सहज हुनथालेको उनको भनाइ थियो । काठमाडौाबाट स्याफ्रूबेँसीसम्म मोटर र त्यसपछि स्पाफ्रबेँसीबाट लाङटाङ खोलाको तीरैतीर साढे दुई दिनमा लाङ्टाङको क्याङजेन पुग्न सकिने र बाटोमा हिँढ्दा खाजा नासताका लागि ठाउँठाउँमा चिया पसलसमेत खुलेका छन्

विनाशकारी भूकम्पले तहसनहस बनाएको उक्त क्षेत्रको वास्थान जिल्ला दैवीप्रकोप उद्धार समितिसँगको समन्वय तथा दाताको सहयोगमा हेलिकप्टरबाट सामान ढुवानी गरी आवास तथा होटल लज निर्माण गरिएको बताउँदै लाङटाङ पुनःनिर्माण समितिका अध्यक्ष तेम्वा लामाले अहिले कादुरी नामक गैरसरकारी संस्थाको सहयोगमा सय किलोवाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन भइसकेको जानकारी दिए । पर्यटकले हिमाली दृष्यावलोकनको अलवा पुरिएको लाङटाङ गाउँसमेत अवलोकन गर्न थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.