लागूपदार्थ रोकथाममा स्थानीय तहको भूमिका

रिपोर्ट नेपाल | 2019 Jan 05 | 02:44 pm 2352

मानवद्वारा निर्मित हाम्रो सुन्दर समाजमा प्रशस्त मात्रामा सकारात्मक सँस्कृति, संस्कार, परम्परा र सभ्यता भएता पनि नकारात्मक पक्षका कुरीति विकृति र कुसंस्कार पनि विद्यमान छन्, जसले समाजमा नराम्रो प्रभाव पारि राखेका छन् र कुनै वर्ग, लिङ्ग र उमेर समूह यसबाट अछुतो रहेको छैन । यस्ता थुप्रै विकृति मध्ये लागूपदार्थ दुव्र्यसशन पनि एक हो यसलाई लागूऔषध दुरुपयोग पनि भन्ने गरिन्छ ।

अहिले यो कुलत हाम्रो समाजमा डरलाग्दो र विकराल रुपमा फैलिएको छ । अझ यसबाट हाम्रो समाजका भविष्य उन्मुख किशोर किशोरी तथा युवा पुस्ता अत्यधिक मात्रामा जकडिएको पाइन्छ । यो एउटा सामाजिक विषय हो जसले एकको, चार चारको, बाह्र बाह्रको अड्चालीस गरेर संख्यात्मक रुपमा आफ्नो प्रभाव फैलाउदै गइराखेको छ । कतिपय युवाहरु भने लागूपदार्थ रोकथाम गर्ने संस्थाको सम्पर्कमा गएर यसको सेवाबाट लाभान्वित भई विस्तारै सामान्य जीवन जिउने तर्फ उन्मुख हुँदै छन् र सफलता प्राप्त गरेका पनि छन् ।

हाम्रा बालबालिका लागूपदार्थको चंगुलमा पर्ने विविध कारणहरु रहेका छन् । ती मध्ये प्रमुख कारण प्राय अभिभावक नै भएको पाइन्छ । बाल्य अवस्थाको अबोध अवस्था पार गरी किशोर किशोरी र युवा अवस्थामा पाइला टेक्दा टेक्दै थेप्रै शारीरिक र मानसिक परिवर्तनहरु बालबालिकामा आइसकेका हुन्छन् । आफूमा भइरहेको परिवर्तनका बारेमा अन्यौलता र त्यसको निक्र्यौलका लागि उचित र अनुचित जिज्ञासा उनीहरुको मानसपटलमा सलबलाइरहेका हुन्छन ठीक बेठीक छुट्याउन अन्योल हुने परिस्थितिबाट उनीहरु गुज्रीरहेका हुन्छन् । जिज्ञासा शान्त पार्न र सो सम्बन्धी कुराहरु आदान प्रदान गर्नका लागि नजिकको आफ्नो मान्छेको आवश्यकता रहेको हुन्छ ।

त्यस्तो बेलामा सर्वप्रथम अभिभावक र शिक्षकले उनीहरुको विचार र समस्या बुझि सहयोग गर्नु पर्दछ । युवाहरुमा भएका वा हुँदै गएका परिवर्तनका बारेमा विस्तृत जानकारी गराउनु पर्दछ । यदि यस्तो बेलामा उचित सान्त्वना, सल्लाह, उनीहरुका आवश्यकताको परिपूर्ति, रेखदेख, माया ममता, सामीप्यता र सम्मान पाएनन् भने उनीहरु आफूलाई एक्लो भएको महसुस गर्दछन् र बाहिरी साथीसँगत तर्फ आकर्षित हुन्छन् ।

त्यसैले अभिभावकले बुझ्नु पर्ने के हो भने यो बेला भनेको उनीहरुका आवश्यकता र चाहना ह्वात्तै बढ्छन् अतः यस्तो परिस्थितिमा अत्यन्तै समझदारी पूर्वक आफ्नो बच्चालाई सम्हाल्नु पर्दछ । भनिन्छ जब बाबु आमाको जुत्ता चप्पल छोरा छोरीलाई मिल्छ तब छोरा छोरीलाई साथी बनाई साथी सरह व्यबहार गर्नु पर्दछ । तर हाम्रो समाजका सबै परिवार शिक्षित छैनन् ।

सबै परिवारले यस्ता कुरा बुझेका छैनन् । हुनत सबै अभिभावकले आफ्ना बालबालिकाको लागि भलो नै सोचेका हुन्छन् । तर पनि केही अभिभावकले बालबालिकामा ध्यान दिन वा आवश्यकता पूरा गर्न नसक्नु अन्य विविध बाध्यता र कारणहरु रहेका हुन्छन् । बालबालिका बाहिर खराबसँगतमा गई कुलतमा फस्नु विविध कारणहरु हुन्छन् जस्तैः–

१ आर्थिक अभावका कारण बालबालिकाका सबै आवश्यकता र चाहना पूरा गर्न नसक्नु र उनीहरुलाई यथार्थता बुझाउन पनि नसक्नु ।

२ समय अभाव र व्यस्तताका कारण आफ्ना बालबालिकालाई उचित रेखदेख र सामीप्यता उपलब्ध गराउन नसक्नु जसको कारणले बालबालिकामा बाहिरी आकर्षण बढ्न जान्छ ।

३ पारिवारिक झै–झगडाका कारण बालबालिकाको उपेक्षा गर्नु कुटपिट गर्नु र अपमानजनक शब्दको प्रयोग गर्नु ।

४ कुनै पनि अप्रिय घटनाको जिम्मेवारी बढाउनु ।

५ जबरजस्ती परिपक्व भएको आभाष गराउनु वा क्षमता भन्दा बढी जिम्मेवारी थोपार्नु ।

६ हाम्रो समाजमा पश्चिमी सँस्कृतिको प्रभाव पर्नु ।

यसका अतिरिक्त अहिले हाम्रो समाजमा केही अभिभावक वैदेशिक रोजगारका लागि विदेश जाने र यहाँ भएका आफ्ना सन्ततिका जायज नाजायज सबै इच्छा चाहना पूरा गर्दै जानु, जसका कारण बालबालिकाले अनेक प्रकारका विकृतिलाई अंगाल्दै गइराखेका छन्।

कुलतमा फसिसकेका बालबालिकालाई हप्की–दप्की, कुटपिट, हेला, दुव्र्यवहार होइन माया ममता, सामीप्यता साथै उ आफ्नो परिवारको महत्वपूर्ण सदस्य भएको आभाष दिलाउनु पर्दछ ।

स्थानीय तहको भूमिकाः

बच्चाहरु लागूऔषधको दुव्र्यसनी हुनेको पहिलो जिम्मेवार त परिपवार नै हो यसको उन्मूलनको दायित्व पनि अभिभावक र परिवार नै हो । तर यस्तो विकराल समस्याका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ । जसरी बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरुको चौतर्फी विकास हुनु पर्दछ भन्ने विषयमा कुनै दुई मत छैन, त्यसरी नै युवा उन्मुख किशोर किशोरी र युवा पुस्ता भविष्यका कर्णधार हुन्, उनीहरुलाई पनि समाजमा रहेका कुरीति, कुसंस्कार र कुलतबाट जोगाउनु पर्दछ भन्ने कुरा निर्विकल्प छ ।

तत्कालीन स्थानीय निकायले लेखनाथ नगरपालिका लागूपदार्थ दुव्र्यसन रोकथामका लागि हंसपुर इलाका प्रहरी कार्यालय र लेखनाथ सामुदायिक सेवा केन्द्र लगायत विभिन्न संघ संस्थाको समन्वयमा तालिम गोष्ठि संचालन गर्दै आइरहेको हो । तर, त्यतिले मात्र यसका लागि प्रयाप्त भएन । स्थानीय निकायको आफ्नै बाध्यताका कारण यस कार्यले अरु कार्य सरह प्राथमिकता पाएन ।

लागूपदार्थ जस्तो डरलाग्दो कुलतबाट हाम्रा युवा पुस्तालाई जोगाउन स्थानीय तहको प्रमुख दायित्व हो । जबसम्म बालबालिकाको भविष्य सुरक्षित हुँदैन तबसम्म प्रत्येक विकास निर्माणका कार्य अधुरा नै रहन्छ । स्थानीय तहले गर्ने विकास कसका लागि भन्ने प्रश्न चिह्न खडा हुन्छ । तसर्थ युवा वर्गको हित र संरक्षणका लागि स्थानीय सरकारले तल्लो तह (टोल,वडा) देखि नै यो समस्या सामाधानका लागि पहिलो प्राथमिकता दिनु पर्दछ ।

युवा पुस्ताको संरक्षणका लागि नीति नियम निर्माणदेखि कार्यान्वयनको प्रकृयासम्म सम्बन्धित पक्षको सहभागीतामा संचालन र सम्पन्न हुनु पर्दछ । स्थानीय सरकार जनताको अभिभावक भएकाले लागूऔषध दुव्र्यसन रोकथाम सम्बन्धी कार्य गर्ने सम्पूर्ण संघ संस्थालाई एक द्वारा प्रणाली मार्फत कार्यक्रम र अनुगमन गर्नु पर्दछ ।

लागूऔषध सम्बन्धी सुधारगृहलाई पूर्ण सुरक्षित र सुविधा सम्पन्न बनाउन स्थानीय सरकारले सहयोग गर्नु पर्दछ । प्रत्येक घर, टोल र समूहमा यसको परिचय र असर सम्बन्धी व्यापक प्रचार प्रसार गरी यसको नकारात्मक असर बारे चेतनामूलक कार्यक्रम संचालन गर्नु पर्दछ साथै यस्तो नकारात्मक कार्यमा सहयोग गर्ने अपराधिक समूहलाई दण्डित गर्नका लागि सम्बन्धीत निकायसँग समन्वय गर्नु पर्दछ ।

प्रत्येक बालबालिकालाई उनीहरुको अधिकार उपलब्ध गराउन घर–घरमा सचेतनामूलक कार्यक्रम संचालन गर्नु पर्दछ । स्थानीय तहले सबै संघ संस्था र समुदायसँग समन्वय गरी समाजमा लागूऔषध सेवन जस्ता विकृति फैलिन नदिन सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने र यस्ता कार्यक्रमहरुमा अन्य सरोकारवाला निकायहरुले पनि आ–आफ्नो ठाउँबाट सहयोग पुर्‍याएमा हाम्रो समाजमा लागूऔषध सेवन जस्तो कुसंस्कार हटेर जानेछ भन्ने आशा लिन सकिन्छ ।

(तत्कालिन प्रहरी उपरीक्षक अशोक सिंहको कार्यकालमा जिप्रका कास्कीद्वारा प्रकाशित लागूऔषध विरुद्धको महाअभियानबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.