लागूऔषध दुर्व्यसनको हब बन्‍दै सुर्खेत

रिपोर्ट नेपाल | 2018 Jun 26 | 09:52 am 3956

सुर्खेत, असार १२: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दुर्व्यसनको विकराल रुप रहेको देखिएको छ ।

लागूऔषध प्रयोगकर्ताको संख्याको बारेमा जिल्लामा यकिन सरकारी तथ्यांक नभए पनि बेलाबेलामा लागूऔषधको मुद्दामा पक्राउ पर्नुको साथै विभिन्न गैरसरकारी संस्थामा आएका प्रयोगकर्तालाई आधार मान्दा यसको विकराल रुप देखिएको छ । यति मात्र होइन महिला र बालिकासमेत यसको जोखिममा परेको पाइएको छ । छ महिना अघि लागूऔषध दुव्र्यसनमा फसेका १८ जना बालकलाई उद्धार गरिएको थियो ।

दुई-चार दिन अघि मात्र फेरि सडकमा दुव्र्यसनमा परेका १७ जना बालक फेला परेको लागूऔषध दुव्र्यसनीको क्षेत्रमा काम गर्दै आइरहेको भैरव युवा सशक्तीकरण केन्द्रका सञ्चालक ललित भट्टराईले बताए । “लागूऔषधको दुव्र्यसनीमा फसेका १८ जना सडक बालबालिकालाई संस्थाले उद्धार गरेर कसैलाई घरमा त कसैलाई आफन्तकोमा जिम्मा लाएका छौँ” भट्टराईले भने, “फेरि पनि दुव्र्यसनमा फसेका १७ जना बालकको टोली सडकमा देखिएका छन् ।” यस्ता दुव्र्यसनीमा फसेका बालबालिकालाई स्थानीय निकाय होस् या संघसंस्था सबैले बेवास्ता गर्ने गरेको उनको भनाइ छ ।

त्यसैगरी, यस्ता बालबालिका चोरी डकैतीजस्ता विकृतिमा संलग्न हुने हुनाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो । यस वर्ष ४५० जना प्रयोगकर्तालाई परामर्शसँगै पुनःस्थापना गर्ने लक्ष्य रहेको भट्टराईको भनाइ छ । जिल्लामा लागूऔषध प्रयोगकर्ताको आधिकारिक तथ्यांक नभए पनि करीब ६०० को हाराहारीमा कडा खालका (छोड्नै नसक्ने) प्रयोगकर्ता रहेको बताए। “यकिन तथ्यांक छैन संस्थामा परामर्श लिन आएका प्रयोगकर्तालाई आधार मानेको संख्या हो” उनले भने, “दुव्र्यसनीमा त यसको संख्या अझ बढी हुन सक्छ ।”

त्यसैगरी, पछिल्लो समय महिला प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको उनले बताए। अहिले बाहिर देखिएका मात्र १० देखि १२ जनाको संख्यामा रहेका छन् । सोमबार वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भैरव युवा सशक्तीकरण केन्द्र सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरिएको लागूऔषध दुव्र्यसन विषयक अन्तक्र्रिया कार्यक्रममा केन्द्रका सञ्चालक भट्टराईले लागूऔषध दुव्र्यसनको विकराल अवस्था रहेको बताए।

सबैभन्दा पहिले अभिभावक नै सचेत हुनुपर्नेमा उनले जोड दिए । “सामाजिक प्रतिष्ठाका कारण यस्ता विषयहरु लुकाइन्छ” उनले भने, “परिवार अनि समाजले लुकाउँदै जाँदा यसको अवस्था भयावह बन्दै गएको हो ।” यसका लागि सचेतना फैलाउन जरुरी रहेको भट्टराईको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.