लागु औषध दुर्व्यसन विरुद्ध विद्यार्थीलाई प्रशिक्षण कार्यक्रम

रिपोर्ट नेपाल | 2018 Aug 06 | 04:17 pm 4887

पाल्पा, साउन २१ : पछिल्लो समयमा रामपुर लगायतका मुख्य व्यापारिक केन्द्र तथा यस आसपासका गाउँ तथा अन्य साना शहरहरुमा लागु औषध प्रयोकर्ताहरुको संख्यामा बढोत्तरी भइरहेको छ ।

यसले समग्र सामाजिक संरचनालाई कुरूप बनाई युवा जगतमा नराम्रो प्रवृत्तिको सिकार हुनु पर्ने तथ्यलाई ह्रदयंगम गरी इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

रामपुर नगरपालिका वार्ड नं ४ सदावर्त स्थित सीताराम माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई रामपुर नगरपालिका उप मेयर विष्णु देवी घिमिरे आचार्यको प्रमुख आतिथ्यमा लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

नेपाली समाजको प्रमुख विकृति, बिसंगती,गम्भीर प्रकृतिको दुर्व्यसन र अपराधको रूपमा रहेको लागु औषधलाई समाजबाट न्यूनीकरण गर्ने अभियानलाई मूर्तरूप दिने कार्यलाई लक्ष्यमा पुर्याउनको लागि विद्यार्थी लक्षित कार्यक्रमहरूको आयोजना गरेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई लागु औषध भनेको के हो ? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन् ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ? साथै लागु औषधको सेवन, बिक्री वितरण तथा ओसारपसार गर्नेलाई नेपालमा प्रचलित कानुनले के कस्तो सजायको व्यवस्था गरेको छ ? लागु औषध नियन्त्रणमा बिधार्थी, बिधालय र अन्य सरोकारवाला निकायहरूले खेल्नु पर्ने भूमिका आदि विषयहरू केन्द्रित प्रशिक्षण दिइएको थियो ।

इलाका प्रहरी कार्यालय रामपुरद्वारा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेयले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा विद्यालयका प्र.अ. लगायतका अध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका पदाधिकारीहरू समेत सहभागीको रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.