ललिता निवास जग्गा प्रकरणका सबै आरोपी धरौटीमा रिहा

| 2023 Sep 11 | 06:49 am 1837

काठमाडौँ,भदौ २५।बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा आरोपमा पक्राउ परेका १७ जना धरौटीमा रिहा भएका छन् । सो प्रकरणमा पक्राउ परेका १८ मध्ये एक जनालाई साधारण तारेखमा र १७ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएसँगै उनीहरू छुटेका हुन् । उनीहरूलाई जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसँग सबैभन्दा धेरै अर्थात् २ करोड ४६ लाख रुपियाँ धरौटी माग गरेको छ । त्यस्तै, तत्कालीन मालपोत अधिकृत कलाधर देउजा र समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोदप्रसाद पौडेलसँग जनही १५ लाख, तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्रकुमार श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर बालकृष्ण श्रेष्ठ, डिल्लीबजार नापी कार्यालयका तत्कालीन सर्वेक्षक घमनकुमार कार्की र डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन खरिदार गोपाल कार्कीसँग जनही ७ लाख ५० हजार रुपियाँ धरौटी माग गरिएको छ ।

त्यस्तै, समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरि घिमिरे, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन खरिदार नारायणराज मिश्र, नापी कार्यालय काठमाडौंका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठसँग ७ लाख ५० हजार धरौटी माग गरिएको छ । तत्कालीन नापी अधिकृत ध्रुवप्रसाद अर्याल र तत्कालीन वडा सचिव शिवजी भट्टराईसँग जनही ३ लाख ३० हजार रुपियाँ धरौटी माग गरिएको छ । नक्कली मोहीका आरोपित बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जयकुमार महर्जनसँग जनही १ लाख १० हजार रुपियाँ धरौटी माग गरिएको छ ।

जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका केशव तुलाधरलाई भने साधारण तारेखमा रिहा गरेको छ । न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले केशव तुलाधरलाई साधारण तारेखमा र अरू आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको भन्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको बताइएको छ ।

(न्यूज अफ नेपाल)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.