लमजुङ-मनाङ सडक अवरुद्ध

रिपोर्ट नेपाल | 2018 Sep 14 | 12:08 pm 2479

लमजुङ, भदौ २९: पहिरोका कारण लमजुङ-मनाङ सडकखण्ड अवरुद्ध भएको छ। बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनौं ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ ।

पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सो खण्डमा यातायात सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ । कतिपय ठाउँमा चट्टान फोरेर सडक बनाउनु पर्ने अवस्था छ। “सडक पुनःनिर्माण गर्न निकै समय लाग्छ,” लमजुङका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले भने, “चाँडो काम थाल्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका छौँ ।”

बेँसीशहर–६ खरखरे, मस्र्याङदी–३ अर्खले, मस्र्याङदी–४ घोप्टे भीर, श्रीचौर, च्याम्चेलगायतका ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । अर्खले खोला, रामबजारको तोप्रो खोलालगायतका खहरे खोलाले सडक बगाएको छ । सडक अवरुद्धपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । अलपत्र परेका ३० जनाभन्दा बढी यात्रुलाई बिहीबार नेपाली सेना र प्रहरीले उद्धार गरेको थियो ।

“गाडी बीच बाटोमा थन्किएका छन्,” यातायात व्यवसायी विपीन श्रेष्ठले भने। बाढी पहिरोले एउटा ट्याक्टर र तीन मोटरसाइकल बगाएको छ भने एउटा ट्रक तथा दुई जिपमा क्षति पुगेको छ। मनाङमा सामान ढुवानी गर्न समस्या भएको छ । पदयात्री मारमा छन् । पहिरोसँगै ढुङ्गा झर्ने क्रम नरोकिएकाले पदयात्रा गर्न कठिन भएको ताघ्रिङका पदम गुरुङले बताए।
–––

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.