लगानी सम्मेलनमा प्रस्तावित ७७ परियोजनामध्ये १५ वटामा लगानी गर्न दुई पक्षबीच समझदारी

रिपोर्ट नेपाल | 2019 Mar 31 | 06:53 am 1796

काठमाडौं, चैत्र १७ : लगानीकर्ताहरूले नेपालका १५ वटा परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार सम्पन्न लगानी सम्मेलनमा ऊर्जा, यातायात पूर्वाधार र प्रस्तावित ७७ परियोजनामध्ये १५ वटामा लगानी गर्न दुई पक्षबीच समझदारी भएको हो । सरकारले आयोजना गरेको सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा सरकारले सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी कुल ३४ खर्ब ५८ अर्ब रुपैयाँका ७७ आयोजना प्रदर्शनीमा राखिएको थियो ।

सम्मेलनमा चौधरी गु्रपले चारवटा परियोजनामा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । गु्रपले तीनवटा विदेशी कम्पनीलाई ल्याउनेछ । ग्रुपले मल्टी मोडल लजिस्टिक पार्कका लागि सराफ गु्रपसँग सम्झौता गरेको छ । त्यसैगरी ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काई पावर कम्पनीलाई भित्र्याउने भएको छ । चौधरी ग्रुपले सिजी लाइफसेल टेलिकमको साझेदार टर्कसेलसँग पनि समझदारी गरेको छ ।

समझदारीपत्रमा चौधरी गु्रपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरी र कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । चौधरी ग्रुपले सोलार प्लान्ट राख्न प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ । समझदारीपत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हस्ताक्षर गरेका छन् ।

भारतीय कम्पनी एसजेभिएन (सतलज) ले निर्माण गरिरहेको अरुण तेस्रोमा थप लगानी जुटेको छ । नौ सय मेगावाटको उक्त परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका छन् । परियोजनामा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोड, एभरेस्टले ८ अर्ब १२ करोड ६१ लाख र नबिलले ४ अर्ब ८७ करोड ५८ लाख ऋण दिने प्रतिबद्धता जनाएका छन् ।

एक सय ६४ मेगावाटको कालीगण्डकी गोर्जे हाइड्रोपावर परियोजनालाई संयुक्त रूपमा विकास गर्न युनान सिन्ह्वा वाटर कन्र्जभेन्सी एन्ड हाइड्रो पावर इन्भेस्मेन्ट कम्पनी, हाइड्रो सोलुसन ग्रुप एन्ड सांघाई इन्भेस्टिगेसन र डिजाइन एन्ड रिसर्च इन्स्टिच्युटबीच समझदारी भएको छ । सझदारीपत्रमा नेपालका तर्फबाट हाइड्रो सोलुसन ग्रुपका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सिमरा विशेष आर्थिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विकास गर्न लगानी बोर्ड, इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) र स्पेसल इकोनोमी जोन अथोरोटी (सेजा) बीच सम्झौता भएको छ ।

यस्तै हाइड्रो सोलुसन ग्रुपका ज्ञानेन्द्रलाल प्रधानले बनेपामा हिमालयन बुटिक भिलेज रिसोर्ट गर्ने समझदारी गरेका छन् । प्रधानले सिन्सियर कन्सल्टेन्सी कम्पनी लिमिटेड र रिसोर्स हिमालय भिलेज रिसोर्टबीच रिसोर्ट बनाउने समझदारी गरेका हुन् ।

एनआरएनले उद्योग क्षेत्रमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । समझादारीपत्रमा एनआरएनका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले हस्ताक्षर गरेका छन् ।

ग्रेनवेयर हाउस सञ्चालनका लागि नेसनल कोल्याटल म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेयर हाउस कम्पनीबीच समझदारी भएको छ । समझदारीपत्रमा नेपाल वेयर हाउसबाट आनन्द बगरिया र नेसनल कोल्याटलबाट अनुपम कौशिकले हस्ताक्षर गरेका छन् ।

यस्तै नेपाल निर्माण व्यवसायी महासंघ र म्यानमार लाइसेन्स निर्माण व्यवसायीबीच पूर्वाधार विकासका लागि समझदारी भएको छ । सम्झौतापत्रमा महासंघका अध्यक्ष रवि सिंह र काओ विनले हस्ताक्षर गरेका छन् ।

दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् परियोजनामा कोरियाली कम्पनी केओएसईपीले ६ अर्ब ५० करोड डलर लगानी गर्ने भएको छ । केओएसईपीका उपाध्यक्ष हक बिन किमले त्रिशूली १ मा लगानी गर्ने घोषणा गरेका हुन् ।

युनाइटेड फाइनान्स लिमिटेडमा भारतीय मुथु फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ । त्यसको घोषणा मुथु ग्रुपका कन्ट्री हेड अनिल कार्कीले गरेका छन् । सम्मेलनमा लगानी बोर्ड र लगानी बोर्ड साउथ अफ्रिकाबीच सहकार्यका लागि समझदारी भएको छ ।

अपी पावर कम्पनी र कँडेल ग्रुपले सोलार जलविद्युत् र हावाबाट बिजुली निकाल्नका लागि सम्झौता गरेका छन् । यसअन्तर्गत १८ मेगावाटको सोलार, ९८ मेगावाटको जलविद्युत् र १० मेगावाटको हावाबाट बिजुली निकालिनेछ । सम्झौतामा अपी पावरका गुरुप्रसाद न्यौपाने र कँडेल ग्रुप अफ कम्पनीका तर्फबाट राजेन कँडेलले हस्ताक्षर गरेका छन् ।

विदेशी लगानीकर्ता आकर्षितः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनमा भएका समझदारीले विदेशी लगानीकर्ता नेपालप्रति आकर्षित भएको पुष्टि भएको दाबी गरेका छन् । उनले पाइपलाइनमा रहेका परियोजना चाँडै भित्र्याउन सरकारले सक्दो प्रयास गर्ने बताए । उनले भने, ‘लगानीकर्ताकै औद्योगिक प्रतिबद्धताले नेपाललाई लगानीको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने मेरो विश्वास छ ।’

अर्थमन्त्री खतिवडाले सम्मेलन विदेशी तथा स्वदेशी निजी क्षेत्रले एकअर्कासँग व्यावसायिक साझेदारीका लागि छलफल गर्ने वातावरण बनेको बताए । उनले भने, ‘सम्मेलनमा सरकारी अधिकारीले व्यावसायिक साझेदारीका लागि सहजीकरण र सुशासन सुधारमा काम गर्ने मौका मिल्यो । सहभागीले नेपालमा लगानी अवसरबारे गहन ज्ञान प्राप्त गरेको विश्वास छ ।’ सम्मेलनमा कृषि, पर्यटन, यातायात, सूचना प्रविधि, ऊर्जा विषयमा छलफल भएको थियो । यसले ती क्षेत्रमा अवसर खोज्न मद्दत पुगेको मन्त्री खतिवडाले बताए । उनले नेपालको लगानी क्षेत्र, साझेदार र नीतिगत अवस्था लगानीका लागि उपयुक्त रहेको प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री खतिवडाले सरकार नेपालमा लगानीका लागि सहजीकरण गर्न तत्पर रहेको बताए । सरकारले लगानी बोर्डलाई अधिकार प्रत्यायोजन गरेर लगानीका सम्पूर्ण सेवा एकद्वार प्रणालीमा विकास गरेको छ ।

तत्काल कार्यान्वयन सुरु गरिने

सम्मेलनमा एक हजार दुई सयभन्दा बढी सहभागी थिए । तीमध्ये ४० मुलुकका तीन सय कम्पनीका सात सय विदेशी थिए । १० वटा शृंखलामा सम्पन्न यो सम्मेलनले लगानी आकर्षणमा टेवा पुर्‍याएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । सम्मेलनका क्रममा तीन दर्जनभन्दा बढी बीटूजी बैठक सम्पन्न भयो । लगानीकै एजेन्डामा केन्द्रित भएर प्रधानमन्त्री र अर्थमन्त्रीले ३० वटा विभिन्न लगानीकर्ता तथा एजेन्सीसँग छलफल गरेका दिए ।

सरकारले शनिबार हस्ताक्षर भएका परियोजना कार्यान्वयनका लागि तुरुन्त काम सुरु गर्ने अधिकारीले बताए । नीतिगत तहमा हुनुपर्ने सुधारका प्रयास समेत जारी रहेको उनले बताए ।

१७ परियोजनामा आवेदन

सम्मेलनमा १७ वटा परियोजनामा लगानीका लागि आवेदन परेको बोर्डले जनाएको छ । बोर्डका अनुसार यातायात तथा पूर्वाधार क्षेत्रमा सात, ऊर्जामा चार , कृषि पूर्वाधारमा तीन, शिक्षा तथा स्वास्थ्यमा दुई र लजिस्टिकमा एउटा आवेदन परेको हो । (आजकाे अन्नपूर्णपाेष्टबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.