लगानी बोर्ड: ३० परियोजनाका लागि १० खर्ब रुपैयाँ लगानी स्वीकृत

| 2022 Mar 20 | 07:37 am 1437

काठमाडौं, चैत ६ः ठूला परियोजनाहरूमा पुँजी जुटाउन स्थापना भएको लगानी बोर्डले हालसम्म ३० वटा परियोजनाका लागि १० खर्ब रुपैयाँ (८ अर्ब ४० करोड डलर) लगानी स्वीकृत गरेको छ ।

लगानी बोर्डका प्रवक्ता भगवान अर्यालका अनुसार जलविद्युत्, सिमेन्ट, उत्पादनमूलक उद्योग, गाडी उत्पादन, औद्योगिक पार्क, सडक, लजिस्टिकलगायतका परियोजनाका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको हो ।

हालको व्यवस्थाअनुसार ६ अर्ब रुपैयाँभन्दा बढी लगानी भएका आयोजनाको लगानी बोर्डको क्षेत्राधिकारमा पर्छ । ठूला परियोजनामा पुँजी जुटाउन पहल गर्दै आएको लगानी बोर्डले अहिलेसम्म साढे दुई दर्जन परियोजनाका लागि १० खर्ब रुपैयाँ लगानी स्वीकृत गरिसके पनि एक दर्जन आयोजना पाइपलाइनमा छन् ।

बोर्डले माथिल्लो तमोर आयोजनाका लागि ६३ अर्ब ७२ करोड रुपैयाँ, मनाङ मर्स्याङ्दी आयोजनाका लागि ३३ अर्ब ४१ करोड रुपैयाँ, जुमखोला आयोजनालाई १० अर्ब ५३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । यसैगरी, अरुण तेस्रो आयोजनाको पुँजी वृद्धिका लागि ६२ अर्ब २६ करोड रुपैयाँ र डाबर नेपालको क्षमता विस्तारका लागि ९ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । अरुण तेस्रोमा १ खर्ब ४४ अर्ब रुपैयाँ, माथिल्लो त्रिशूली–१ मा ७३ अर्ब १५ करोड, माथिल्लो कर्णालीमा १ खर्ब १५ अर्ब, माथिल्लो मस्र्याङ्दी–२ मा ७८ अर्ब ३० करोड, होङ्सी सिमेन्टमा ३७ अर्ब ३५ करोड रुपैयाँ, धरानस्थित फोहोरबाट ऊर्जा उत्पादन गर्ने आयोजनाका लागि २४ करोड, हुवासिन सिमेन्टका लागि १४ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ ।

स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्न बेलाबेलामा लगानी सम्मेलन, गोष्ठी, सेमिनारलगायत विभिन्न कार्यक्रम गर्दै आएको बोर्डले नेपाल चाइना फ्रेन्डसिप इन्डिस्ट्रियल पार्कको लागि ६४ अर्ब ९० करोड रुपैयाँ, गाडी उत्पादनको एसम्ब्लिङ प्लान्ट स्थापनाका लागि १० अर्ब ५४ करोड, दाङ सिमेन्टको लगानी विस्तारका लागि ३२ अर्ब ५० करोड, सम्राट सिमेन्टका लागि १५ अर्ब ६ करोड रुपैयाँ र १ हजार २ सय मेगावाटको पश्चिम सेती एसआर–६ का लागि १ खर्ब ५६ करोड ८० अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

यी सबै लगानी विदेशबाट भित्रिन लागेको बोर्डले जनाएको छ । हालसम्म बोर्डले लगानी स्वीकृत गरेकामध्ये होङ्सी, शिवम् सिमेन्टले अहिले उद्योग स्थापना गरी धमाधम सिमेन्ट उत्पादन गरिरहेको छ । होङ्सी, शिवम् सिमेन्ट उद्योगले हाल दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ । यो उद्योगले आफ्नो उत्पादन क्षमता विस्तार गरी दोब्बर टन सिमेन्ट उत्पादन गर्ने तयारी थालेको छ । हुवासिन सिमेन्ट नारायणीले पनि परीक्षण उत्पादन गरिरहेको छ ।

९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको काम आधा सकिएको छ । आगामी दुई वर्षभित्र अरुण तेस्रो आयोजनाको काम सक्ने लक्ष्य लिइएको छ । यसैगरी, बोर्डले आगामी ५ वर्षमा ११ खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी स्वीकृत गर्ने लक्ष्यसहित आफ्नो भावी योजना तयार पारेको छ । यसका लागि बोर्डले केही महिना अघि नै आफ्नो पाँचवर्षे व्यावसायिक योजना (२०७८–२०८२) रणनीतिक योजना सार्वजनिक गरिसकेको छ ।

सो रणनीतिक योजनाले आगामी पाँच वर्षमा ११ खर्ब रुपैयाँ (१० अर्ब अमेरिकी डलर) बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य लिइएको छ । सो अवधीमा ७ खर्ब रुपैयाँ (६ अर्ब अमेरिकी डलर) बराबरको सार्वजनिक निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने, कम्तीमा १ लाख रोजगारी सिर्जना गर्न सहयोग पु-याउने लक्ष्य लिएको छ ।

यीबाहेक बोर्डसँग मुक्तिनाथ केवलकार, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौैंको बाहिरी चक्रपथ निर्माण, मल्टिमोडल लजिस्टिक पार्क, धुलिखेल मेडिसिटी, एयरपोर्ट लगायत ठूला परियोजनाहरू लगानी स्वीकृत हुने क्रममा रहेका छन् ।

लगानी बोर्डको अध्यक्षमा प्रधानमन्त्री र उपाध्यक्षमा अर्थमन्त्री रहने व्यवस्था छ । सार्वजनिक निजी साझेदारी र विदेशी लगानीका आयोजनामा ठूला लगानी भियात्र्याउने मूल जिम्मेवारी प्राप्त निकाय लगानी बोर्ड नै हो । यो बोर्ड नै नेपालमा लगानीसम्बन्धी सर्वोच्च निकाय हो ।

अन्य जिम्मेवार निकाय ऊर्जामन्त्री, वनमन्त्री र उद्योगमन्त्री पनि बोर्डका सदस्य हुन्छन् । त्यसैगरी, नेपाल सरकारका मुख्यसचिवदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर सदस्य छन् । त्यस्तै, विषयगत मन्त्रालयका मन्त्री र विषय विज्ञ पनि सदस्य रहने प्रावधान छ ।

विदेशबाट ठूला लगानी भित्राउने र स्वदेशी ठूला लगानीलाई प्रोत्साहित गर्दै एकद्वार प्रणालीमा लैजाने परिकल्पनासहित सन् २०११ मा बोर्ड गठन भएको थियो । कुनै मन्त्रालय, निकाय वा विभागले ठूलो स्वदेशी तथा विदेशी लगानी भित्र्याउने गरी काम गर्न सक्दैनन् भन्ने निष्कर्षमा नै बोर्ड स्थापना भएको थियो । यस बोर्डमा उच्च व्यावसायिक व्यक्ति र विज्ञ राखेर लगानीकर्तालाई नेपालमा थप लगानी आकर्षित गर्न सहज गराउने उद्देश्यअनुरूप नै बोर्डले काम गरिरहेको बोर्डका प्रवक्ता अर्यालको दाबी छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.