मोरङ, कात्तिक ११: लक्ष्मी पूजा तथा दीपावली मनाउने क्रमम मोरङका विभिन्न स्थानमा आगलागीमा भएर एक बालकको जनाको ज्यान गएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५, कोठेबारीका युवराज गिरीको घरमा गए राति आगलागी हुँदा उनका ४ वर्षीय छोरा युसन गिरीको ज्यान गएको हो । दीपावलीको क्रममा आगलागी हुँदा घरभित्र सुतिरहेका युसनको जलेर ज्यान गएको हो । आगलागीबाट घरमा भएका ६० हजार नगद, सुन, चाँदी, लत्ता कपडासमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए ।
त्यसैगरी विराटनगरमा आगलागी हुँदा एउटा कार जलेको छ । आइतबार साँझ दीपावली गर्ने क्रममा विराटनगर १० मा रहेको नेशनल एकेडेमी कलेज नजिकै रोकेर राखिएको को १ च ९२६२ नम्बरको कारमा आगोलागी भएको हो । दिपावली गर्दा मैनबत्ती बाल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट कार पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
यसैगरी, मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८, आमजुङ्गेमा दीपावली गर्ने क्रममा स्थानीय उमेश बस्नेतको घरमा आगलागी हुँदा २१ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।