लकडाउनको मौका छोपी दाङमा सुनचाँदी पसल चोरी

| 2020 Mar 28 | 10:40 am 5944

दाङ, चैत १५: मुलुक लकडाउनमा रहेको बेला चौथो दिनको रातमा तुलसीपुरको एक सुनचाँदी पसल चोरी भएको छ ।

उक्त सुनचाँदी पसलबाट झण्डै ३ लाखभन्दा बढी मूल्य बराबरको सुन चाँदी चोरी भएको प्रहरीले जानकारी दिएको हो ।

तुलसीपुर उपमहानगरपालिका ५ क स्थित रहेको टीका सुन चाँदी पसलबाट शुक्रबार राति साँढे १ बजे चोरले सडक छेउको सटरको ताला फोडेर गरगहना चोरेको बताइएको छ ।

अनुसन्धान गर्दा पसलमा जडित सिसि क्यामरामा एक जना व्यक्ति सेतो खैरो रङको ज्याकेट लगाएर ताला फोडी भित्र प्रवेश गरेको देखिएको छ ।

उक्त पसलबाट २ किलो चाँदी, ४ आनाको पञ्चरत्ने बाला, तिलहरी बनाउन कालीगढको सन्दुकमा राखिएको १२ आना सुन, १२ आनाको सुन टुक्रा, १० तोला चाँदीको गहना र केही नगद चोरी गरेको पाइएको हो ।

लकडाउनमा पसल खोल्न नपाइने र बिहान पसलको अवस्था हेर्दा सटरको ताला फोडेको अवस्थामा देखिएपछि प्रहरीमा खबर गरेको सुनचाँदी व्यवसायी तुलसीराम सुनारले जानकारी दिए ।

प्रहरीले सो घटनाको अध्ययन गरिरहेको र अनुसन्धान सुरु गरेको ईप्रका तुलसीपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.