पुस्तक समिक्षा

लकडाउन डायरी सरसरती हेर्दा

रिपोर्ट नेपाल | 2021 Jul 17 | 07:18 am 5105

–भरत कोइराला

कोभिड १९ ले विश्व नै आक्रान्त बनाएको समयमा हाम्रो देश पनि अछुतो रहन सकेन । फलस्वरुप अन्यत्र झैं हामी कहाँ पनि लकडाउन सुरु भयो । करिब लकडाउनको सुरुवाती दिनहरुमै हाम्रो देशमा रहेका केही चाइनाका नागरिकहरुले आफ्नो देश फर्कन पाउँ भनी आफ्नै राजदूत समक्ष हार–गुहार गर्नको सट्टा निषेधाज्ञा तोडी सिंहदरबार सामु सुरक्षाकर्मीमाथि जाइलागेको दृष्य देखेपछि यस पुस्तकका लेखक एवम् ब्रिटिस आर्मीका इन्जिनियर वसन्त भुजेलले लकडाउन डायरी नामाकरण गरी यो पुस्तक लेख्न सुरु गरेको देखिन्छ । हुन त यो पुस्तक रिपोर्ट नेपाल डटकममा विभिन्न समयमा प्रकाशित लेखको संगालो हो । लेखको संगालोको रुपमा प्रकाशित यो पुस्तकमा रहेका लेखहरु एकै किसिमका नभएका कारण सबै खाले पाठकका लागि पठनीय रहेको छ ।

बिदेशी नागरिकले आफ्नो भूमिमाथि नाङ्गो नाच नाच्दा पनि कसैको नजरमा नपरेको कुरालाई लेखक वसन्त भुजेलले उठान गरी आफ्नो लेखनको श्री गणेश गरेको देखिन्छ । नेपालको परिवर्तन हुने समयमा आफ्नो मातृभूमि छाडेर बिदेशिए पनि लेखक भुजेल देश र भेष प्रति कति जानकार र चिन्तित रहेछन् भन्ने कुरा यस पुस्तकका विभिन्न लेखहरुबाट छर्लंङ्ग हुन्छ । आफ्नो कलकलाउँदो जवानी र विद्धता ब्रिटिस सेनाको इन्जिनियर भएका नाताले विभिन्न देशका शहरहरुमा बिताए पनि भुजेलको लेखहरु हेर्दा उनी इन्जिनियर मात्र नभएर कतै दर्शनशास्त्री त होइनन् भन्ने भान पनि हुन्छ ।

शारिरीक रुपमा अशक्त देखिएता पनि उनको दिमाग कुनै बौद्धिक वर्गको भन्दा कमी भए जस्तो यो पङ्तिकारलाई लागेन । पैसाका लागि देश र भेष बिक्री गर्ने आफूलाई राजनेता भन्नेहरु भन्दा उनी कति राष्ट्रवादी रहेछन् भन्ने कुरा उनको पुस्तकको पृष्ठ ११ मा रहेको देशले मागे रगत दिन तयार छौं  भन्ने शीर्षकको लेखले छर्लंङ्ग बनाउँछ । यो पङ्तिकारले पुस्तक अध्ययन गर्दै जाँदा पुस्तकमा राजनीतिक, सामाजिक र आर्थिक जस्ता गहन विषयमा बडाे विष्लेषणात्मक किसिमले उल्लेख गरेको पाइन्छ ।

राजनीतिक क्षेत्रमा कलम चलाउनेले साँस्कृतिक क्षेत्रमा कलम चलाउन कठिन भए झैं भुजेलका हरेक लेख हेर्दा उनी सबै क्षेत्रका अध्ययन गर्ने साच्चीकै अध्ययनशील नागरिक भएको मैले महसुस गरें । सीमा विवादमा बेलायतको भूमिकाका विषयमा नेपाली विद्वानहरुले नउठाएका कुरा लेखक भुजेलले आफ्नो लेख मार्फत तर्कसंगत ढंगले प्रस्तुत गरेका छन् । उनले छिमेकी मित्रराष्ट्रलाई छिमेकी राष्ट्र सानो भयो भन्दैमा हेप्न नहुने त्यो राष्ट्र पनि कुनै समय अत्यन्तै काम लाग्ने मित्र हुनसक्छ भनेर भारतको मिचाहा प्रवृत्तिको विरोध गरेका छन् ।

भुजेलको पुस्तकमा राजनीतिक र सामाजिक कुराले मात्रै देश बन्दैन, देश बनाउनका लागि घोकन्ते शिक्षा होइन, प्राविधिक र साँस्कृतिक शिक्षा अहिले देशभर आवश्यक पर्ने उनको दृष्टिकोण रहेको छ । पछिल्लो समयमा नेपालमा बडो चर्चामा रहेको एमसीसी बारे भुजेलले प्रष्ट पार्ने क्रममा ३ भागमा लेखिएका कुरालाई अध्ययन गर्दा जसरी यसका विषयमा नकारात्मक टिप्पणी गरिन्छ, त्यो गलत रहेछ भन्ने प्रष्ट हुन्छ ।

एउटा लाहुरेले नेपालका विषयमा यति जानकार राख्लान र यसरी नेपाली जनतालाई सुसुचित बनाउलान भन्ने कल्पना यो पङ्तिकारले गरेकाे थिएन । पुस्तक हातमा लिएपछि अन्तिमसम्म पढ्दै जाँदा रोचक, घोचक र रमणीय सामाग्री लेखकले पस्केका रहेछन् । उनको पुस्तकमा हाम्रो देशको नेतृत्वले देखाउँदै आएको वास्तविक चरित्रलाई उदाङ्ग पारिदिएका छन् । पृष्ठ ५२ को हाम्रो नेतृत्व देशलाई भन्दा घरलाई माया गर्ने भएपछि  भन्ने शीर्षकको लेख पढ्दा राजनीतिक पार्टीका नेताको चरित्र छर्लंङ्ग देखिन्छ ।

२१२ पृष्ठ रहेको लकडाउन डायरी भरखरै सम्मानित अदालतले संविधानको बचाउ गर्दै खारेज गरिदिएको ओली सरकारबाट गरिएका अनियमितता, विज्ञप्ति र विसंगतिलाई लेखकले छर्लंङ्ग हुनेगरी प्रस्तुत गरेका छन् । आफू गोर्खा सेनाको सिपाही भएका कारण अग्रज गोर्खालाई त्यहाँको राज्यले गरेको विभेद बारे पनि भुजेलले आफ्नो लेखमा प्रष्ट्याएका छन् । एउटै व्यक्तिले यति धेरै विषयमा लेखेको यो पङ्तिकारले आजसम्म भेटेको थिएन । यसरी लेख मार्फत नेपाली पाठकलाई जानकारी दिने र राज्यलाई घचघच्याउने लेखक वसन्त भुजेललाई साधुबाद !

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.