लकडाउन खुलाएकाे तीन दिनपछिमात्र खुल्ने देशभरका जिल्ला अदालत

रिपोर्ट नेपाल | 2020 Apr 10 | 04:37 pm 1507

काठमाडाैं, चैत २८ः संसारभर फैलिएकाे काराेना भाइरस (काेभिड १९) का कारण मुलुक लकडाउन भएपछि बन्द भएकाे देशभरका जिल्ला अदालतहरू सरकारले लकडाउन खुलाएको तीन दिनपछिमात्र खुल्ने भएका छन् ।

सर्वोच्च अदालतले शुक्रबार विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएपछि अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी तीन दिनपछि मुद्दाको नियमित सुनुवाई हुने जनाएको छ ।

सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ३ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ ।

वैशाख ३ पछि पनि सरकारले लकडाउन थपेमा सोही अनुरुप अदालत पनि बन्द हुने प्रवक्ता भद्रकाली पोखरेलले बताए । बन्दकै बीच पनि बन्दी प्रत्यक्षीकरणको निवेदन तथा गम्भीर प्रकृतिका कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई तथा पक्राउ अनुमति तथा जरुरी पक्राउ पुर्जीको समर्थनका काम निरन्तर रहने पोखरेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.