- सन्तोष महतारा
गुल्मी, असार २७ जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा शौचालयको असुविधा भएको क्वारेन्टाइनमा बसेकाहरुले गुनासो गरेका छन् ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का ज्ञानीश्वर पन्थीले आफुहरुलाई शौचालयको असुविधा भएको गुनासो गरेका हुन् ।

क्वारेन्टाइनमा २५ जना भन्दा बढी छौं । पन्थीले गुनासो गर्दै भने, पुरुष, महिला र अपाङ्ग सबैको लागि एउटै शौचालय भएकोले समस्या भएको छ । क्वारेन्टाइनमा खुट्टाको समस्या भएका एक फरक क्षमता भएका ब्याक्तिसँगै पुरुष र महिला गरी २५ जना भन्दा बढी छन् ।
क्वारेन्टाइनमा रहेकी भुमकुमारी विकले पनि शौचालयको धेरै नै समस्या रहेको गुनासो गरिन् । कपडा धुने नुहाउने त टाढा कै कुरा २५ जनालाई एउटै शौचालय छ । त्यो पनि एकदमै फोहोर । उनले भनिन्, यहाँ त कोरोना भन्दा अन्य रोगको त्रास बढेको छ ।

क्वारेन्टाइन मै रहेकी अर्की महिला कल्पना पाण्डे पनि भारत बाटै आएकी हुन् । उनको सानो बच्चा छ । निरन्तर पानी परिरहने त्यसैमाथि शौचालय टाढा छ । उनले गुनासो गर्दै भनिन्, शौचालय जाँदा पनि रुज्दै भिज्दै जानुपर्छ । शौचालय एउटा मात्रै भएकोले आफुहरुलाई धेरै समस्या भइरहेको उनको गुनासो थियो ।
उनकै आफन्त एक जना खुट्टाको समस्याका कारण अपांग छन् । उनी पनि त्यही शौचालय प्रयोग गरिरहेका छन् । अपांग खुट्टाले नै बल्लतल्ल हिडेर शौचालय जानु पर्ने बाध्यता उनलाई छ ।
क्याम्पसमा प्रत्येक तल्लामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय छन् । तर पनि त्यहाँ क्वारेन्टाइनमा रहेकाहरुलाई एउटा मात्रै शौचालय खुल्ला गरिएको छ । शौचालयको लागि पनि पर्याप्त पानी उपलब्ध नभएको क्वारेन्टाइनमा बसेकाहरूले गुनासो गरेका छन् ।
क्वारेन्टाइनमा रहेका पन्थीले आफु भारतबाट आएकोले आफुमाथि घृणित व्यबहार भएको गुनासो गरेका थिए ।
यस बिषयमा यसअघि नै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्य शाखालाई समेत जानकारी छ । तर, सबै मुखदर्शक नै बनेका छन् । नगरपालिकाले अहिलेसम्म शौचालय व्यवस्थापनमा बेवास्ता गरेको छ ।

हामीले जानकारी गराएपछि मात्र वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वर पाण्डेले अब वैकल्पिक उपाय अपनाउने बताए ।
शौचालय कै कारण विभिन्न रोगहरु उत्पन्न हुन सक्ने भन्दै त्यस क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा रहेकाहरुलाई अन्य विद्यालयमा सार्न पहल गरिने पाण्डेले जानकारी दिए ।
तत्काल कोरोनाको जोखिम कायमै रहेकाले त्यहाँ व्यवस्थापनमा कठिनाई रहेको उनको भनाइ छ । उनले नगरपालिकासँग समन्वय गरेर छिट्टै यस समस्याको समाधान गर्ने बताए ।