रेसुंगा नगरलाई हरित बनाउने पन्थीकाे प्रतिबद्धता

रिपोर्ट नेपाल | 2022 May 28 | 03:13 pm 2253

गुल्मी, जेठ १४ः नेपाली कांग्रेस गुल्मीका सभापति एवम् सदरमुकाम तमघासमा रहेकाे  रेसुंगा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्ने बताएका छन् ।

प्रमुख पन्थीले उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायत १४ वटै वडाका अध्यक्षहरुसँग संयुक्त बैठक बसी उक्त कुराकाे जानकारी दिएका हुन् ।

आफ्नाे हरित शहरको अवधारणाका विषयमा जानकारी गराउँदै नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिका प्राकृतिक र वातावरणीय हिसाबले आफैमा सुन्दर र हरियाली शहर भएको हुँदा यो अवधारणा नगरको मौलिक कार्यक्रम रुपमा रहने बताएका थिए ।

नगरका आगामी कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सरसफाइलगायत हरित शहरको परिकल्पना अनुसार अगाडि बढ्ने बताउदै प्रमुख पन्थीले , यसलाई जनसहभागिता र सबैको सुझावबाट तत्कालै नीतिमार्फत् अगाडि बढाइने प्रतिबद्धता जनाएका थिए।

हरित शहरको अवधारणालाई मूर्त रुप दिनका लागि शहरलाई स्वच्छ र हराभरा बनाउन फोहोरमैला व्यवस्थपन केन्द्र निर्माण गर्ने पनि पन्थीले उक्त बैठकमा सहभागी समक्ष बताएका थिए । नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिकाका १४ वटै वडालाई रेसुंगा सर्किट निर्माण गरी पर्यटन पूर्वाधारमा लगानी बढाउने समेत जानकारी गराएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.