रुकुम (पश्चिम), भदाै २६: जिल्लाको मुसीकोट नगरपालिका-१० चुनका दुई बालिका पहिरोमा पुरिएर ज्यान गएको छ । उनीहरू विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जानकारी दिए ।
पहिराेमा परी ज्यान जाने बालिकाहरूमा स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विक रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
उक्त घटना बुधबार बेलुकी करिब ५ बजेतिर विद्यालयबाट फर्कने क्रममा बाटोमै पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको डिएसपी खड्काले बताए । गत वर्ष निर्माण गरिएको सडकमा पहिरो गएपछि दुबै बालिका पुरिएका थिए ।
उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएकाे बुझिएकाे छ । शव पोष्टमार्टम गरेपछि आफन्तलाई बुझाउने डिएसपी खड्काले बताए । हालसम्म रुकुम पश्चिममा पहिरोले पुरेर पाँचजनाको मृत्यु भएको छ ।