रूकुम घटनामा तीन जनाकाे शव फेला, वडाध्यक्षसहित १२ जना पक्राउ

| 2020 May 25 | 09:30 pm 2423

रूकुम, जेठ १२ः गएकाे शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ । अझै चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएकाे छ ।

जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको लाश फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता रहेका छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए ।

घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको उनले बताए । उनले भने, हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् ।

उनले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएको बताउँदै भने,फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हाम्फाल्यौँ । करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिइन् ।

भेरी नगरपालिकाबाट १९ युवा नवराजकी प्रेमिका १७ वर्षीया युवतीलाई भगाउन भनी गएका थिए । तीमध्ये १२ जना घाइते छन् । जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको लाश परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.