रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने

| 2019 May 31 | 08:42 am 1812

काठमाडौं, जेठ १७:  रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ ।  शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाैंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो ।

करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवर्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने गुरुङको भनाइ छ ।

गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले जानकारी दिए । अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ ।

पुरीका अनुसार हरेक शुक्रबार काठमाडाैं–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडाैं उडान भर्ने निगमको तयारी छ ।
रुम्जाटारमा नियमित उडान हुने भएपछि जिल्लावासी खुशी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.