रुपन्देहीमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुरु

| 2022 Dec 16 | 02:36 pm 1077

रुपन्देही, पुस १ः नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास शुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिइएको उक्त सैन्य अभ्यास रुपन्देहीको सालझुण्डीमा आज (शुक्रबार) बाट शुरु भएको हो । नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यास ‘सूर्यकिरण’ को यो १६औं संस्करण हो । सैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना फौज सहभागी रहेका छन् ।

भारतीय सेनाको तर्फबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना फौज सहभागी छन् । सैन्य अभ्यासको सालझुण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।

गत वर्ष सैन्य अभ्यासको १५ औं संस्करण भारतको पिथौरागढमा भएको थियो । नेपाल र भारतका फौजबीच २०६७ देखि संयु्क्त सैन्य अभ्यास हुँदै आएको छ । अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृति प्रकोप, पर्यावरण संरक्षणमा केन्द्रित हुनेछ । १४औं संस्करण कोरोना भाइरस संक्रमणको जोखिमका कारण भएको थिएन ।

शुक्रबारबाट शुरु भएको सैन्य अभ्यास पुस १४ गतेसम्म चल्ने छ । नेपाली सेनाले अमेरिकी र चिनियाँ जनमुक्ति सेनासँग समेत सैन्य अभ्यास गर्दै आएको छ । कोरोना संक्रमणपछि नेपाली सेनाले भारत र अमेरिकासँग नियमितरूपमा सैन्य अभ्यास गरिरहेको छ । नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास भने अहिले रोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.