रुखले किचेर उदयपुरकाे अधेरी झर्नामा एक महिलाको मृत्यु, तीन घाइते

| 2021 Aug 07 | 07:07 pm 3097

उदयपुर, साउन २३ः रुखले किचेर उदयपुरमा एकजना महिलाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–४ की २८ वर्षीया निशा मगर दनुवार रहेकी छिन् ।

उनकाे शनिबार दिउँसोको समयमा उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको अधेरी झर्ना नजिकै मकिएको रुख ढलेर किच्दा महिलाको ज्यान गएको हो ।  रुखले किचेर उनका श्रीमान श्याम दनुवारसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा कटारी–४ बस्ने २७ वर्षीय  मिना दनुवार,सोही स्थानका ४० वर्षीय श्याम दनुवार र  कटारी–५ का ४८ वर्षीय कुमार तामाङ रहेका छन् ।

रोकी रहेको प्र.२–०१–००१ ह ०५६० नम्बरका अटो भित्र रहेकी ती महिलाको रुखले किचेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिए । डिएसपी गौतमका अनुसार रुख लड्दा स १० प ३२७२ नम्बरको मोटरसाइकलमा समेत क्षती भएको पुगेको छ ।

गत वर्षदेखि चर्चामा रहेकाे अधेरी झर्नामा नुहाउन र मनाेरञ्जन लिनका लागि मानिसहरू भिड लाग्ने गर्दछन् । त्यसै क्रममा आज करिब २० देखी २५ जना मान्छेहरु भेला भएका थिए । नुहाउन गएका केही व्यक्तिहरुले भने घटना आसपासबाट भागेर ज्यान बचाएका थिए ।

घाइतेहरुको टाउको, हात, खुट्टामा चोट लागेको छ । उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.