रुकुम घटनामा संलग्न वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

| 2020 Jun 24 | 09:19 pm 1967

पश्चिम रुकुम, असार १०ः गत १० जेठमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान लिने गरी भएको घटनामा संलग्नलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उक्त मुद्दामा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई थुनामा राख्न आदेश दिएको हो । बुधबार जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले आदेश दिएको हो ।

त्यस्तै अदालतले एक जनालाई एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई तारेखमा छाड्न आदेश दिएको छ ।

मुद्दा पूर्पक्षका लागि थुनामा जानेहरुमा वडाध्यक्ष  डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमबहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (१) र परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (३) छन् ।

त्यस्तै तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, बिराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भनिने सविन पुन र मोहन पुन मगरलाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अर्का परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (२) १ लाख धरौटीमा रिहा भएका छन् । अन्य तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दीपेन्द्र चन्द भने तारेखमा रिहा भएका छन् । त्यस्तै प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझैं फरार रहेका जानकारी गराइएको छ ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध जन्मकैददेखि आजीवन कारावाससम्मको कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गराएको थियो ।

उक्त मुद्दामा प्रतिवादीको बयान र थुनछेक बहस सकिएपछि आज थुनछेक आदेश जारी भएको हो । पक्राउ परेका २९ जनामध्ये दुई नाबालकलाई भने बाल सुधारगृहमा पठाउन यसअघि नै अदालतले आदेश दिइसकेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.