रिहापछि विशाल भन्छन्, ‘यातना दिँदै मार्ने भनेपछि आरोप स्वीकारेँ’

| 2018 Dec 23 | 07:05 am 1793

कञ्‍चनपुर, पुस ८ : निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले रिहा गरेको छ। अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरी शुक्रबार रिहा भएका हुन्।

परिवारका सदस्यहरुलाई भने शनिबार मात्रै जिम्मा लगाइएको छ। प्रहरीले शुक्रबार बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाएर छोडेको थियो।

केन्द्रले शनिबार काठमाडौंबाट महेन्द्रनगर ल्याएर विशालका बुबा वीरवहादुर चौधरीले जिम्मा लगाएको हो। ‘मेरो निर्दोष छोरालाई यति दिनसम्म हिरासतमा राखेर यातना दिइयो’, वीरबहादुरले भने, ‘उसलाई हिरासतमा राखेर पनि डर देखाइएको रहेछ।’ उनले अनुसन्धानमा प्रहरी सुक्ष्म रुपले नै लागिरहेको बताए। प्रहरीले विशाल चौधरी र हिरासतमै रहेका अर्का प्रदिप रावलको डीएनए परीक्षण समेत गरेको थियो।

डीएनएको रिपोर्ट नमिलेको यसअघि नै खबर बाहिरी सकेको छ। तर कञ्चनपुर प्रहरीले भने अहिलेसम्म रिपोर्ट आधिकारिक जिल्लासम्म नपुगेको जनाएको छ। प्रहरी स्रोतका अनुसार विशालको डीएनए नमिलेपछि उनलाई रिहा गरिएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुरकै प्रदिप रावल भने केन्द्रीय अनुसन्धान ब्यूरोकै हिरासतमा रहेका छन्। अनुसन्धानकै क्रममा काठमाडौंमा प्रदिप रावल पक्राउ परेपछि उनकै

रिहा भएपछि विशालले आफूलाई यातना दिएको र मार्ने भनेपछि डरले आरोप स्वीकारेको बताएका छन्। विशालले प्रहरीले मानसिक यातना दिएकै कारणले आफूले स्वीकार गरेको बताए। ‘प्रदिपले स्वीकारी सक्यो त पनि स्वीकार नत्र तिम्रो मृत्यु पनि हुन सक्छ भनेर डर देखाइयो’, शनिबार प्रहरी कार्यालयमा पत्रकारमाँझ उनले भने,‘मारिदिन्छौ भन्‍ने धम्कीले मलाई पनि डर लाग्यो र आरोप स्वीकारेको हुँ।’ उनले प्रहरीले कञ्चनपुरमै पक्राउ गरेपछि आफूलाई डर देखाएको बताए।

‘मलाई पुलिसमा जागिर लगाइदिने जस्ता पनि लोभ देखाए’, उनले भने, ‘काठमाडौंमा आँखामा कालोपट्टी र हातमा हतकडी लगाएर हिरासतमा राखियो।’ राति डियुटीमा रहने प्रहरीले बन्दुक देखाएर मार्दिन्छु भनेर धम्की समेत दिएको उनको आरोप छ।

साउन १० गते साँझपख विशाललाई प्रहरीले पक्राउ गरेको बताए पनि विशालले भने आफूलाई प्रहरीले १२/१ बजेतिर नै पक्राउ गरेको बताए। ‘मलाई कुखुरा चोरेको आरोपमा साउन १० गते दिउँसै पक्राउ गरिसकेको थियो’, उनले भने,‘साँझतिर त म सालघारीकै चौकीमा घाँस उखेल्दै थिए।’

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पक्राउ पर्न सकेको छैन।

हत्या भएको ५ महिना पुग्नै लागेको छ। छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमाले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको बाहिर सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.