रिहा भए प्रनेश गौतम

रिपोर्ट नेपाल | 2019 Jun 14 | 03:05 pm 1822

काठमाडाैं, जेठ ३१ : नेपाली सिनेमा ‘वीर विक्रम २’ समीक्षा गरेबापत् साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गौतमलाई हाजिरी जमानतमा रिहा गरेको पुष्टि गरे। गौतमलाई बिहीबार राति ८ बजे प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको उनले बताए।

‘वीर विक्रम २’का निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको थियो। गत शुक्रबारदेखि उनी प्रहरी हिरासतमा थिए।

बिहीबार प्रहरीले साइबर अपराध अभियोगमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो। अब उनीमाथि सरकारी वकिल कार्यालयको निर्देशन अनुसार प्रहरीले मुद्दा प्रक्रिया बढाउनेछ।

गौतमको रिहाइ माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन भएको थियो। उनको गिरफ्तारीले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.