राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

| 2019 Dec 13 | 09:13 am 1729

काठमाडौंं, मंसिर २७: आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।

राष्ट्रियसभामा रिक्त रहेका १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको म्याद (आज) शुक्रबार देखि पुस ६ गतेसम्मको मिति तोकेको छ।

यसअघि निर्वाचित भएका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २१ मा सकिंदै छ। कार्यकाल सकिने सदस्यहरूमा नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली रहेका छन्।

त्यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ। कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडा रहेका छन् भने राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव र समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.