राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको आज टुंगो लाग्दै

रिपोर्ट नेपाल | 2023 Feb 05 | 08:17 am 1021

काठमाडौं, माघ २२ः संसद्को सबैभन्दा ठूलो एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्ता गठबनधन बाहिर रहेका दलहरूले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार एउटै बनाउने सहमति गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने गरी सहमति गरेका हुन् ।

सिंहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शनिबार बसेको कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सम्मिलित बैठकले उक्त निर्णय गरेको नेताहरूले बताएका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए । लेखकले भने– ‘उम्मेदवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छौं ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरू पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको जानकारी दिँदै भने – ‘सबै पक्षको कुरा बुझेर एउटा टुङ्गोमा पुग्ने भन्ने भएको छ । कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन् । व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन् । विकसित परिस्थितिका आधारमा बसेर टुङ्गोमा पुग्छौँ ।’ उनले उपाध्यक्ष पदमा आफ्नो पार्टीको दाबेदारी नरहेको स्पष्ट पारे ।

नेताहरूबीचको छलफलमा नेपाली कांग्रेसले अघि सारेको उम्मेदवारलाई नै सहयोग गर्ने सहमति बनेको एक सांसदले बताए । तीन दलका शीर्ष नेताहरूको छलफलमा कांग्रेसको तर्फबाट उम्मेदवारी मनोनयन गरेका उम्मेदवारलाई सत्ता गठबन्धन बाहिर रहेका दलहरूले सहयोग गर्ने भन्ने सहमतिनजिक पुगेको उनको भनाइ छ । उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।

यसैबीच प्रतिपक्षी दल कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको लागि उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको छ । राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला हुनुपर्ने भएकाले कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको हो । अनिता देवकोटा पार्टीको प्रमुख सचेतक रहेका कारण दुईमध्ये एक जना उम्मेदवार बन्ने बताइएको छ ।

उपाध्यक्षको निर्वाचनको विषयमा छलफल गर्न कांग्रेसले शनिबार प्रतिपक्षी दलको बैठकसमेत बोलाएको थियो । छोटो समय बसेको बैठकमा यसबारे प्रारम्भिक छलफल भएको कांग्रेसका मुख्य सचेतक लेखकले जानकारी दिए । अन्य कुनै पार्टीको दाबेदार नरहेकाले भोलि कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने उनले बताए ।

यता एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाअनुसार राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने भएको छ । सभामुख एमालेले लिएपछि राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीलाई सहयोग गर्ने नेकपा एमालेका नेता विशाल भट्टराईले नेपाल समाचारपत्रलाइ बताए। यसअघि पनि माओवादीबाट शशिकला दाहाल रहेको सो पदका लागि आगामी माघ २३ गते सोमबार निर्वाचन हुँदैछ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.