राष्ट्रियताको पक्षमा कदम चाल्दा भारतीयले आफूलाई हटाउन षड्यन्त्र गरेको प्रम ओलीको आरोप

रिपोर्ट नेपाल | 2020 Jun 28 | 03:44 pm 1370

काठमाडौं, असार १४ः प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको पक्षमा कदम चाल्दा भारतीयले आफूलाई हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधान गर्ने क्रममा ओलीले उक्त कुरा बताएका हुन् ।

साथै, राष्ट्रियताको विषयमा बोल्दा प्रधानमन्त्रीलाई हटाउँछु भनेर नसोच्न उनले सुझाव दिए।

ओलीले आफूलाई पदमा बस्ने मन नभए पनि राष्ट्रका लागि अनिवार्य भएको बताए। ओलीले आफू तत्काल हट्दा गलत नजिर स्थापित हुने बताए।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमी समेटेर नक्सा जारी भएपछि भारत रुष्ट छ। भारतले पछिल्ला दिनमा सरकार परिवर्तनकै लागि खेल खेलेको भन्दै ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन। तर, म अहिले हट्ने हो भने गलत नजिर स्थापित हुन्छ’, ओलीले भने, ‘म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ। त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ।’

ओलीले आफूले नक्सा सच्याएकै नाममा हटाउने चलखेल भएको भन्दै त्यो नसोच्न चेतावनी दिएका हुन्। उनले दूतावास र होटलमा चलखेल बढेको खुलासासमेत गरेका छन्।

उनले आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने समेत बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.