राष्ट्रिय वन क्षेत्रका रुख काटेको अभियोगमा सामुदायिक वनका अध्यक्ष र कोषध्यक्ष पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 29 | 08:04 am 4327

कैलाली, माघ १५: राष्ट्रिय वन क्षेत्रमा अवैध रुपमा सालका रूख कटान गरिएको पाइएको छ । जिल्लको गौरीगंगा नगरपालिका–७ स्थित सुनपाल सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनबाट वन कार्यालयको अनुगमन टोलीले १० वटा रूख काटेको फेला पारेको हो ।

उक्त रूख कटानीमा संलग्न रहेको अभियोगमा डिभिजन वन कार्यालय धनगढीले सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशी र कोषाध्यक्ष पर्शुराम चौधरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । अदालतबाट सात दिनको म्याद लिई उनीहरूलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको सहायक वन अधिकृत नीराजन कडालले जानकारी दिए ।

राष्ट्रिय वन क्षेत्रमा रूख काटेको पाइएपछि डिभिजन वनले सब–डिभिजन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाएपछि डिभिजनले सहायक वन अधिकृत कडालको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेको हो ।

अनुसन्धानका क्रममा अध्यक्ष जोशी र कोषाध्यक्ष चौधरीको संलग्नता खुलेपछि पक्राउ गरिएको संयोजक कडालले बताए । रूख काटेर उपभोक्तालाई वितरण गरेको पनि पाइएको छ । संलग्न उपभोक्तालाई पनि पक्राउ गरिने डिभिजन वनले जनाएको छ । वन कार्यालयको टोलीले विभिन्न ठाउँबाट सालका गोलिया र चिरान गरेको तीन सय ४३ क्युफिट काठ बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.